सुनसरी । लामो समय भारतीय सेनामा सेवा गरेर स्वदेश फर्किएका सुनसरीको रामधुनीका कृपाश्वर घले गुरुङ अहिले व्यावसायिक ड्रागन फ्रुट खेतीबाट उदाहरणीय सफलता हासिल गरिरहेका छन्। कृषि क्षेत्रमा नयाँ सम्भावनाको खोजी गर्दै उनले सुरु गरेको ड्रागन फ्रुट व्यवसायले अहिले वार्षिक ५५ लाखदेखि ६० लाख रुपैयाँसम्मको आम्दानी दिलाउन थालेको छ।
रामधुनी नगरपालिका–७ मा रहेको ‘सर्जुमा ड्रागन फ्रुट कृषि फार्म’ मार्फत घलेले २०७४ सालदेखि व्यावसायिक रूपमा ड्रागन फ्रुट खेती सुरु गरेका हुन्। करिब २८ वर्ष भारतीय सेनामा सेवा गरेका घलेले अवकाशपछि आफ्नै भूमिमा कृषि व्यवसाय गर्ने निर्णय गरेका थिए।
मलेसियाबाट ल्याइएको रातो पिङ जातको एउटा बिरुवाबाट सुरु भएको उनको यात्रा अहिले सयौं बोटसम्म विस्तार भएको छ। सुरुका दिनमा ड्रागन फ्रुटको बजार, उत्पादन प्रविधि र उपभोक्तामा यसको स्वास्थ्यसम्बन्धी जानकारी सीमित थियो। तर समयसँगै बजारको माग बढ्दै गएपछि उनले खेती विस्तार गर्दै लगे।
५०० बोटबाट नियमित उत्पादन
हाल घलेको फार्ममा करिब ५०० वटा ड्रागन फ्रुटका बोट छन्। अन्य धेरै फलफूलले वर्षमा एक पटक मात्र उत्पादन दिने भए पनि ड्रागन फ्रुटले मौसमअनुसार वर्षमा नौदेखि १० पटकसम्म फल दिने भएकाले नियमित आम्दानीको आधार बनेको घले बताउँछन्।
गत वर्ष उनको फार्मबाट करिब २७ मेट्रिक टन ड्रागन फ्रुट उत्पादन भएको थियो। यस वर्ष भने उत्पादन ३० मेट्रिक टनभन्दा बढी पुग्ने अनुमान गरिएको छ।
फार्म सञ्चालन, मलखाद, औजार तथा मजदुर व्यवस्थापनमा वार्षिक करिब आठदेखि नौ लाख रुपैयाँ खर्च हुने गरेको छ। फल बिक्रीसँगै उनले बिरुवा बिक्रीबाट पनि राम्रो आम्दानी गर्दै आएका छन्।
उनका अनुसार वार्षिक चार लाख रुपैयाँभन्दा बढीको ड्रागन फ्रुटका बिरुवा बिक्री हुने गरेको छ। पहिले प्रतिबोट चारदेखि पाँच रुपैयाँमा बिक्री हुने बिरुवा अहिले माग बढेसँगै ५० देखि ७० रुपैयाँसम्ममा बिक्री हुन थालेको छ।
प्रतिकिलो ५०० रुपैयाँसम्म मूल्य
घलेको फार्ममा उत्पादित ड्रागन फ्रुट खुद्रा बजारमा प्रतिकिलो ३५० रुपैयाँ र थोकमा करिब ३०० रुपैयाँमा बिक्री हुने गरेको छ। तर उत्पादन कम हुने बेमौसममा यसको मूल्य प्रतिकिलो ४५० देखि ५०० रुपैयाँसम्म पुग्ने गरेको उनी बताउँछन्।
उनको उत्पादन काठमाडौँ, पोखरा, हेटौँडा र बुटवललगायतका प्रमुख सहरमा पुग्ने गरेको छ। धरान, इटहरी, इनरुवा र विराटनगरका स्थानीय बजारमा पनि ड्रागन फ्रुटको राम्रो माग रहेको छ।
धेरै व्यापारीहरू सिधै फार्ममै पुगेर फल खरिद गर्ने गरेका छन्।
खेतीसँगै रोजगारी पनि
ड्रागन फ्रुट खेती घलेका लागि व्यक्तिगत आम्दानीको स्रोत मात्र बनेको छैन, यसले स्थानीयस्तरमा रोजगारीसमेत सिर्जना गरेको छ। फार्ममा दुई जना स्थायी कर्मचारी कार्यरत छन्, जसलाई मासिक १६ हजार रुपैयाँका दरले पारिश्रमिक दिइन्छ।
यसका अतिरिक्त दैनिक ज्यालादारीमा आठदेखि नौ जना मजदुरले काम गर्ने गरेका छन्। फल टिप्ने र मल व्यवस्थापन गर्ने समयमा आवश्यकताअनुसार थप कामदारसमेत परिचालन गरिन्छ।
घलेका अनुसार ड्रागन फ्रुट खेतीका लागि पानी नजम्ने, खुला तथा अत्यधिक चिसो नहुने स्थान उपयुक्त हुन्छ। कहिलेकाहीँ ढुसी र फङ्गसजन्य रोगले उत्पादनमा असर पुर्याउने गरे पनि नियमित निगरानी र उचित व्यवस्थापनबाट जोखिम कम गर्न सकिने उनको अनुभव छ।
‘विदेशभन्दा स्वदेशमै सम्भावना’
व्यावसायिक कृषि क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएबापत घलेले विभिन्न सङ्घसंस्थाबाट एक दर्जनभन्दा बढी सम्मान प्राप्त गरिसकेका छन्। उनको सफलतासँगै रामधुनी क्षेत्रमा ड्रागन फ्रुट खेतीप्रतिको आकर्षण पनि बढ्दै गएको छ।
रामधुनी नगरपालिका–७ मा अहिले १० भन्दा बढी घरधुरीले ड्रागन फ्रुट खेती सुरु गरेका छन्। विदेशबाट फर्किएका केही युवासमेत यस व्यवसायमा जोडिएका छन्।
‘अल्छी नगरी मेहनत गर्ने हो भने नेपालमै राम्रो आम्दानी गर्न सकिन्छ,’ घले भन्छन्, ‘दैनिक विदेश पलायन भइरहेका युवाले आफ्नै देशमा व्यवसाय गरेर पनि राम्रो भविष्य बनाउन सक्छन्।’
उनका अनुसार ड्रागन फ्रुट खेती सुरुका चरणमा केही मेहनत र लगानी आवश्यक पर्ने भए पनि पछि यसको व्यवस्थापन तुलनात्मक रूपमा सहज हुन्छ। बिरुवा रोपेको करिब एक वर्षमै फल उत्पादन हुन थाल्ने भएकाले छोटो अवधिमै प्रतिफल खोज्ने किसानका लागि पनि यो खेती आकर्षक विकल्प बन्न सक्छ।
भारतीय सेनाको लामो सेवापछि स्वदेश फर्केर कृषि रोजेका कृपाश्वर घलेको सफलता अहिले एउटा उदाहरण बनेको छ—उचित योजना, बजारको पहिचान र निरन्तर मेहनत गर्न सके विदेशको रोजगारी मात्र होइन, आफ्नै माटो पनि समृद्धिको आधार बन्न सक्छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्