काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र सांसदबीच भोलि भदौ १० गते बस्ने प्रतिनिधिसभा बैठकमा सवालजवाफ हुने भएको छ।
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ जना सांसदले आफ्ना प्रश्न दर्ता गराएको संसद् सचिवालयले जनाएको छ। सांसदहरूले अधिकतम १५ वटासम्म प्रश्न दर्ता गर्न पाउने व्यवस्था भए पनि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले आफ्नो कोटाअनुसार प्रश्न दर्ता गराएका छैनन्।
रास्वपाका सांसदले सातवटासम्म प्रश्न दर्ता गर्न पाउने भए पनि तीनवटा प्रश्न मात्र दर्ता भएका छन्। अन्य दलका सांसदले भने तोकिएको कोटाअनुसार प्रश्न दर्ता गराएको सचिवालयले जनाएको छ।
सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि भदौ ५ गतेभित्र प्रश्न दर्ता गर्न सांसदहरूलाई निर्देशन दिएका थिए।
संसद् सचिवालयका अनुसार रास्वपाबाट अमरेशकुमार सिंह, कृष्णहरि बुढाथोकी र समीक्षा बाँस्कोटाले प्रधानमन्त्रीलाई प्रश्न सोध्न प्रश्न दर्ता गराएका छन्।
त्यस्तै, नेपाली कांग्रेसबाट बासना थापा र गीता गुरुङ, नेकपा एमालेबाट ऐनबहादुर महर र गणेशसिंह ठगुन्ना तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट वर्षमान पुन र प्रमेश हमालले प्रश्न दर्ता गरेका छन्।
श्रम संस्कृति पार्टीबाट हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट खुश्बु ओलीले पनि प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि प्रश्न दर्ता गराएका छन्।
भदौ १० गतेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शाहले सांसदहरूले दर्ता गराएका प्रश्नको जवाफ दिनेछन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्