कैलाली । सुदूरपश्चिम प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री ओमविक्रम भाटले सडक सुधार, ऊर्जा विस्तार र सडक दुर्घटना न्यूनीकरणलाई मन्त्रालयको प्राथमिकतामा राखेका छन्।
सोमबार पदभार ग्रहण गर्दै मन्त्री भाटले प्रदेशको दीगो विकासका लागि आवश्यक कार्ययोजना तयार गरी अघि बढ्ने बताए। पदभार ग्रहणकै दिन उनले तीन महत्वपूर्ण निर्णयमा हस्ताक्षर गरेका छन्।
पहिलो निर्णयअन्तर्गत कैलालीको चिसापानीदेखि कञ्चनपुरको गड्डाचौकीसम्म सीसी क्यामेरासहित सवारीसाधनको गति मापन गर्ने उपकरण जडान गर्ने निर्णय गरिएको छ। यसबाट सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने मन्त्री भाटले बताए।
त्यस्तै, चिसापानी–गड्डाचौकी राजमार्ग तथा धनगढी–अत्तरियासडक खण्डमा दुर्घटना न्यूनीकरणका लागि आवश्यक सडक सुरक्षा उपायबारे सुझाव दिन समिति गठन गरिएको छ।
प्रादेशिक सडक तथा यातायात व्यवस्थापन महाशाखाका प्रमुख वरिष्ठ डिभिजनल इन्जिनियर रामचन्द्र खत्रीको संयोजकत्वमा गठन भएको समितिले १५ दिनभित्र प्रतिवेदन बुझाउनेछ। समितिले सडक बत्ती, ट्राफिक व्यवस्थापनलगायतका उपायबारे सुझाव दिनेछ।
बहुवर्षीय ठेक्काको अध्ययन
मन्त्री भाटले प्रदेशमा सञ्चालन भइरहेका बहुवर्षीय ठेक्काको अवस्थाबारे अध्ययन गर्न अर्को समिति गठन गरेका छन्। इन्जिनियर रामचन्द्र खत्रीको संयोजकत्वमा गठन गरिएको समितिमा मन्त्रालयका सम्बन्धित महाशाखा प्रमुख सदस्य छन्।
समितिले बहुवर्षीय ठेक्काको वर्तमान अवस्था अध्ययन गरी एक महिनाभित्र प्रतिवेदन बुझाउनेछ। लामो समयदेखि काम अघि बढ्न नसकेका ठेक्काबारे प्रतिवेदनका आधारमा आवश्यक निर्णय लिइने मन्त्री भाटले बताए।
जलविद्युतका लागि कानुन बनाइने
ऊर्जा क्षेत्रतर्फ प्रदेश सरकारले जलविद्युत आयोजना निर्माण गर्न आवश्यक कानुन निर्माणका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँग समन्वय गर्ने भएको छ।
प्रदेशलाई २० मेगावाटसम्मका जलविद्युत आयोजनासम्बन्धी अधिकार भए पनि आवश्यक कानुनको अभावमा काम अघि बढाउन समस्या रहेकाले ऐन निर्माण प्रक्रिया अघि बढाउने मन्त्री भाटले बताए।
बजेट शून्यता अन्त्य गर्ने तयारी
मन्त्री भाटले प्रदेशमा देखिएको बजेट शून्यताको अवस्था अन्त्य गर्न तीव्र तयारी भइरहेको बताए। अघिल्लो बजेट असफल हुनुका कारण पहिचान गरी आगामी दिनमा त्यस्तो अवस्था दोहोरिन नदिने र आवश्यकताअनुसार बजेट पुनर्लेखन गर्ने उनको भनाइ छ।
भूगोल, जनसंख्या र स्थानीय आवश्यकताका आधारमा योजना छनोट गरी प्रदेशको विकास अघि बढाइने उनले बताए। सुशासन र पारदर्शितालाई पनि मन्त्रालयको प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता उनले जनाएका छन्।
राज्यमन्त्री कुँवरले पनि पदभार सम्हालिन्
यसैबीच भौतिक पूर्वाधार विकास राज्यमन्त्री जनकी कुँवरले पनि सोमबार पदभार ग्रहण गरेकी छन्।
राज्यमन्त्री कुँवरले सुदूरपश्चिम प्रदेश सरकारको पहिलो प्राथमिकता सुशासन कायम गर्नु रहेको बताइन्। प्रदेश सरकारले गरेका काम प्रभावकारी रूपमा नागरिकसमक्ष पुर्याउन नसकिएको भन्दै आगामी दिनमा सरकारी काम र उपलब्धिबारे नागरिकलाई जानकारी गराउने विषयमा पनि ध्यान दिने उनले बताइन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्