काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको नयाँ पुस्ताको सोच, अपेक्षा र मनोविज्ञानलाई बुझ्न नसक्ने राजनीतिक दलहरूको पुनर्जागरण कठिन हुने बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले बदलिँदो समयअनुसार राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजनामा परिवर्तन ल्याउनुपर्ने आवश्यकता औँल्याएका हुन्।
उनले विगतका लोकतान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण योगदान गरेका राजनीतिक दलहरूले नयाँ पुस्तासँगको सम्बन्धलाई बलियो बनाउन नसके उनीहरूको राजनीतिक पुनर्जागरण चुनौतीपूर्ण बन्न सक्ने बताएका छन्।
पोखरेलले प्रविधिको तीव्र विकाससँगै युवापुस्ताको जीवनशैली, सूचना ग्रहण गर्ने तरिका, राजनीतिक चेतना र अपेक्षामा समेत ठूलो परिवर्तन आएको संकेत गर्दै दलहरूले पुरानै शैली र सोचमा सीमित रहन नहुने बताएका छन्।
उनले युवालाई केवल चुनावी राजनीति वा संगठन विस्तारको माध्यमका रूपमा मात्र नभई नीति निर्माण र राजनीतिक आन्दोलनको सक्रिय साझेदारका रूपमा जोड्नुपर्नेमा जोड दिएका छन्।
‘प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर आफ्ना नीति, कार्यक्रम र कार्ययोजना परिमार्जन नगर्ने हो भने, विगतका लोकतान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण योगदान गरेका राजनीतिक दलहरूको पुनर्जागरण कठिन देखिन्छ,’ पोखरेलले लेखेका छन्।
उनले समयको मागअनुसार राजनीतिक दलहरू युवामैत्री बन्नुपर्ने र नयाँ पुस्ताका भावना तथा आकांक्षालाई आत्मसात् गर्नुपर्ने बताएका छन्।
‘समयको माग यही हो— युवामैत्री बनौँ, युवाका भावनालाई आत्मसात् गरौँ र उनीहरूलाई योजनाबद्ध रूपमा पार्टी तथा आन्दोलनमा जोडौँ,’ उनले भनेका छन्।
पोखरेलको यो अभिव्यक्तिलाई पछिल्लो समय नेपाली राजनीतिमा बढ्दै गएको पुस्तान्तरण, युवाको राजनीतिक असन्तुष्टि र राजनीतिक दलहरूको पुनर्गठनसम्बन्धी बहससँग जोडेर हेरिएको छ। एमालेभित्र समेत संगठनको भविष्य, नेतृत्व विकास र बदलिँदो राजनीतिक परिस्थितिअनुसार पार्टीलाई कसरी अघि बढाउने भन्ने विषयमा बहस चलिरहेका बेला महासचिव पोखरेलले युवापुस्ताको मनोविज्ञान बुझ्नुपर्नेमा विशेष जोड दिएका हुन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्