काठमाडौं । राष्ट्रियसभाले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ।
मंगलबार बसेको राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विधेयकलाई समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो।
प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्।
मन्त्री गौतमले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विधेयकलाई सम्बन्धित समितिमा पठाउन सभाको अनुमति मागेकी थिइन्। त्यसपछि राष्ट्रियसभा अध्यक्षले प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो।
प्रस्ताव पारित भएसँगै विधेयक अब विधायन व्यवस्थापन समितिमा दफावार छलफलका लागि जानेछ।
राष्ट्रियसभाको अर्को बैठक भदौ १६ गते मंगलबार दिउँसो १ः१५ बजे बस्ने गरी स्थगित भएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्