दाङ । लुम्बिनी प्रदेश सरकारमा तीन जना नयाँ मन्त्री थपिएका छन्। मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले सोमबार दीपेन्द्रकुमार पुनलाई स्वास्थ्य, इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना र कृष्णा कुश्मा थारूलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएका हुन्।
नवनियुक्त मन्त्रीहरूले मंगलबार दिउँसो ३ः२५ बजे बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ।
नेकपा एमाले र नेकपाबीच सत्ता सञ्चालनका लागि गठबन्धन बनेपछि मुख्यमन्त्री आचार्यले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्। नेकपाबाट तीन मन्त्री सरकारमा सहभागी भएसँगै प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ।
यससँगै प्रदेश सरकारले यसअघि जिम्मेवारी सम्हालिरहेका मन्त्रीहरूको मन्त्रालयसमेत हेरफेर गरेको छ। तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन, रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास, सन्तोषकुमार पाण्डेयलाई सहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास तथा भण्डारीलाल अहिरलाई आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ।
यसअघि स्वास्थ्य मन्त्रालय सम्हाल्दै आएका घिमिरेलाई सामाजिक विकास मन्त्रालयमा सरुवा गरिएको छ। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारीमा रहेका चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ।
त्यस्तै, सामाजिक विकास मन्त्रालय सम्हाल्दै आएका पाण्डेयलाई सहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको प्रदेश सरकारले जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्