काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको जनाएको छ। महाशाखाका अनुसार हाल यो प्रणाली नेपाल नजिक सक्रिय छैन।
महाशाखाले मंगलबार बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ। पहाडी भूभागका केही स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही तथा मधेस, कोसी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। मधेस प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना पनि रहेको छ।
राति पनि वर्षाको सम्भावना
मंगलबार राति देशभर सामान्यतया बदली रहनेछ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपात हुनसक्नेछ।
कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही तथा कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना छ।
मधेस तथा कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही स्थान तथा सुदूरपश्चिम प्रदेशको तराईका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
राति पनि कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
कति वर्षालाई भारी वर्षा भनिन्छ ?
मौसमविद्का अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम वर्षा भए हल्का वर्षा मानिन्छ। १० देखि ५० मिलिमिटरभन्दा कम वर्षा भए मध्यम, ५० देखि १०० मिलिमिटरसम्म भए भारी वर्षा मानिन्छ।
त्यस्तै, १०० देखि २०० मिलिमिटरसम्म वर्षा भए धेरै भारी र २०० मिलिमिटरभन्दा बढी वर्षा भए अति भारी वर्षा मानिन्छ।
‘एक–दुई’ र ‘केही स्थान’को अर्थ
मौसमविद्का अनुसार एक–दुई स्थानमा वर्षा भन्नाले कुल भूभागको १० प्रतिशतभन्दा कम क्षेत्रमा वर्षा हुने सम्भावना बुझिन्छ।
१० देखि ३० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना भए ‘थोरै स्थान’, ३० देखि ५० प्रतिशतमा भए ‘केही स्थान’ र ५० देखि ८० प्रतिशतमा भए ‘धेरै स्थान’मा वर्षाको सम्भावना भनिन्छ। ८० प्रतिशतभन्दा बढी भूभागमा वर्षा हुने सम्भावना भए ‘अधिकांश स्थान’मा वर्षा हुने उल्लेख गरिन्छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्