पोखरा । नेकपा एमालेले गण्डकी प्रदेश सरकारबाट आफ्ना चारै जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ।
एमालेको संसदीय बोर्डको बैठकले मंगलबार मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको पार्टीकी प्रमुख सचेतक देवका पहारीले जानकारी दिइन्।
पार्टीको निर्णयअनुसार एमालेबाट सरकारमा सहभागी चारै जना मन्त्रीले सामूहिक राजीनामा बुझाउने तयारी गरेका छन्। राजीनामापछि प्रदेश सरकारमा कसरी अघि बढ्ने भन्ने विषयमा पार्टीभित्र थप छलफल हुने पहारीले बताइन्।
नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच केन्द्रमा सत्ता सहकार्यको सहमति बनेलगत्तै गण्डकी प्रदेश सरकारबाट पनि एमालेले आफ्नो प्रतिनिधित्व फिर्ता लिने निर्णय गरेको हो।
को–को मन्त्री ?
गण्डकी प्रदेश सरकारमा एमालेबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री, यशोदा रिमाल उद्योग तथा पर्यटनमन्त्री, भीमबहादुर कार्की कृषिमन्त्री र लक्ष्मणबहादुर पाण्डे स्वास्थ्यमन्त्री रहेका छन्।
पार्टीको निर्णयपछि चारै मन्त्रीले औपचारिक रूपमा राजीनामा बुझाउने प्रक्रिया अघि बढाउने भएका छन्।
प्रमुख सचेतक पहारीका अनुसार राजीनामापछि प्रदेश सरकारसँगको राजनीतिक सहकार्यबारे पार्टीले आवश्यक निर्णय गर्नेछ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्