कोलकाता । ब्राजिलको राष्ट्रिय फुटबल टोलीले भारतसँग हुने मैत्रीपूर्ण खेलअघि बंगलादेशको राजधानी ढाकामा प्रशिक्षण शिविर राख्ने सम्भावनाबारे अध्ययन गरिरहेको छ।
ब्राजिलले आगामी अक्टोबर ३ मा कोलकातामा भारतसँग मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम छ। त्यसअघि ढाकामा प्रशिक्षण गर्ने विषयमा ब्राजिलियन फुटबल संघका प्रतिनिधि र बंगलादेश फुटबल महासंघबीच छलफल भइरहेको छ। यद्यपि, यसबारे अन्तिम निर्णय भने भइसकेको छैन।
ब्राजिलको पाँच सदस्यीय प्रतिनिधिमण्डल अगस्ट २३ मा ढाका पुगेको थियो। प्रतिनिधिमण्डलले ब्राजिलको एसिया भ्रमणको तयारीका क्रममा ढाकास्थित राष्ट्रिय रंगशाला, बसुन्धरा किंग्स एरिना तथा विभिन्न ठूला होटलको निरीक्षण गरेको थियो।
बंगलादेशसँग खेल्ने सम्भावना पनि
बंगलादेश फुटबल महासंघका अध्यक्ष तविथ अवालले ब्राजिलले बंगलादेशसँग पनि मैत्रीपूर्ण खेल खेल्ने सम्भावनाबारे छलफल भइरहेको बताएका छन्।
बंगलादेशी सञ्चारमाध्यम ‘द डेली स्टार’सँग कुरा गर्दै अवालले ब्राजिलले भारतसँगको खेलअघि वा पछि ढाकामा प्रशिक्षण गर्ने तथा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने विकल्पमा छलफल भइरहेको जानकारी दिए।
उनका अनुसार ब्राजिलियन प्रतिनिधिमण्डलले मैदानको अवस्था र उपलब्ध सुविधाको सूक्ष्म निरीक्षण गरेको थियो। दुई देशका फुटबल संघबीच पूर्वाधार विकास, मैदान मर्मत, कोचिङ तथा मैत्रीपूर्ण खेलमा सहकार्य गर्ने विषयमा पनि छलफल भएको छ।
किन ढाका रोज्दैछ ब्राजिल ?
ब्राजिलले ढाकालाई सम्भावित प्रशिक्षण स्थलका रूपमा हेर्नुको मुख्य कारण त्यहाँ प्रयोग गर्न मिल्ने रंगशाला उपलब्ध हुनु रहेको बताइएको छ।
रंगशालाको अवस्था सन्तोषजनक भए पनि ड्रेसिङ रुम, प्राविधिक कर्मचारीका लागि आवश्यक स्थान तथा प्रवेशद्वारको सुरक्षा व्यवस्थामा केही सुधार गर्नुपर्ने सुझाव ब्राजिलियन प्रतिनिधिले दिएको बंगलादेश फुटबल महासंघले जनाएको छ।
ब्राजिलले भारतसँगको खेलअघि सेप्टेम्बर २५ र २९ मा अस्ट्रेलियासँग दुईवटा मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ।
कोलकाताको मैदानमा प्रश्न
भारतलाई प्रशिक्षण शिविरका लागि छनोट नगर्नुको एउटा कारण कोलकातास्थित साल्ट लेक स्टेडियमको मैदानको अवस्था रहेको बताइएको छ।
ब्राजिलियन प्रतिनिधिमण्डलले मैदानको घाँस पातलो भएको, केही स्थानमा खाल्डाखुल्डी रहेको तथा मर्मतसम्भार पर्याप्त नभएको भन्दै सुधार गर्नुपर्ने सुझाव दिएको छ।
भिनिसियस जुनियरजस्ता विश्वस्तरीय खेलाडी सहभागी हुने भएकाले कमजोर मैदानका कारण चोटको जोखिम बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ। अक्टोबर ३ को खेलअघि मैदानमा उल्लेख्य सुधार गर्नुपर्ने ब्राजिलियन पक्षको सुझाव छ।
भारतमै आलोचना
ब्राजिल र भारतबीचको खेललाई लिएर भारतमै पनि बहस र आलोचना भइरहेको छ। भारतीय फुटबल टोलीका पूर्वकप्तान भाइचुङ भुटियाले ब्राजिललाई कोलकाता ल्याउन खर्च हुने भनिएको ५० देखि ७० करोड भारतीय रुपैयाँको औचित्यमाथि प्रश्न उठाएका छन्।
उनले यति ठूलो रकम विदेशी टोलीको खेलमा खर्च गर्नुको सट्टा बंगालको घरेलु फुटबल र तल्लो तहको संरचना विकासमा लगानी गर्नुपर्ने बताएका छन्। भुटियाले खेल बहिष्कार गर्न समर्थकलाई आग्रहसमेत गरेका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्