काठमाडौँ । बागमती प्रदेश सरकारलाई विश्वासको मत दिने विषयमा देखिएको नेकपाभित्रको असन्तुष्टि समाधानतर्फ उन्मुख भएको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालको उपस्थितिमा काठमाडौँमा भएको छलफलपछि बागमती प्रदेशका आठ जना सांसद मुख्यमन्त्री किरण थापामगरलाई विश्वासको मत दिन सकारात्मक देखिएका छन्।
बैठकमा बागमती प्रदेश सरकार गठन, मन्त्रालय बाँडफाँट, मन्त्री छनोट तथा सत्ता साझेदारीका विषयमा पार्टीभित्र देखिएको असन्तुष्टिमाथि छलफल भएको स्रोतले जनाएको छ।
छलफलपछि सांसदहरूले केही राजनीतिक विषयमा सहमति जुटेमा प्रदेशसभा बैठकमा सहभागी भई मुख्यमन्त्री थापामगरलाई विश्वासको मत दिने संकेत गरेका छन्।
नेकपाका सांसद युवराज चौलागाईले पार्टी नेतृत्वसँग बागमती प्रदेशको पछिल्लो राजनीतिक अवस्था र सरकारसँग सम्बन्धित विषयमा छलफल भएको बताए।
उनले भने, “हामीले पार्टी नेतृत्वसँग बागमती प्रदेशको पछिल्लो राजनीतिक अवस्था र सरकारसँग सम्बन्धित केही विषयमा छलफल गरेका छौँ। केही विषयमा राजनीतिक सहमति गरेर मात्रै प्रदेशसभा बैठकमा सहभागी हुने हाम्रो धारणा हो। ती विषयमा सहमति भयो भने मात्रै विश्वासको मत दिन तयार हुनेछौँ।”
विश्वासको मत दिन सकारात्मक ८ सांसद
मुख्यमन्त्री थापामगरलाई विश्वासको मत दिन सकारात्मक देखिएका सांसदमा युवराज चौलागाई, कृष्ण खनाल, राजेन्द्रमान श्रेष्ठ, ओमकुमारी श्रेष्ठ, उर्मिला लामा, रुकु चौलागाई, गंगानारायण श्रेष्ठ र लक्ष्मण लम्साल रहेका छन्।
यसअघि नेकपाका केही सांसदले सरकार गठन र सत्ता साझेदारीको प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै आएका थिए। उनीहरूले मन्त्रालय बाँडफाँट, मन्त्री छनोट तथा सरकारमा आफ्नो राजनीतिक भूमिकालाई उचित ढंगले सम्बोधन गर्नुपर्ने माग राख्दै आएका छन्।
मुख्यमन्त्री किरण थापामगरले विश्वासको मत लिनका लागि आज मंगलबार दिउँसो ४ बजे बागमती प्रदेशसभा बैठक आह्वान गरेका छन्।
नेकपाभित्र देखिएको विवाद समाधानतर्फ अघि बढेपछि मुख्यमन्त्री थापामगरलाई आवश्यक पर्ने मत जुट्ने सम्भावना बढेको छ। अब पार्टी नेतृत्व र असन्तुष्ट सांसदबीच हुने अन्तिम राजनीतिक सहमतिले बागमती प्रदेश सरकारको भविष्यलाई निर्णायक रूपमा प्रभावित गर्ने देखिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्