काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको आर्थिक विकास, आधुनिकता र गतिशीलतामा अटोमोबाइल क्षेत्रले महत्वपूर्ण भूमिका खेलिरहेको बताएका छन्। उनले अटोमोबाइल क्षेत्रलाई नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार तथा मेरुदण्डका रूपमा चित्रण गरेका छन्।
मंगलबार ‘नाडा अटो शो २०२६’ को १८औँ संस्करण उद्घाटन गर्दै उपराष्ट्रपति यादवले अटोमोबाइल क्षेत्रले देशको आर्थिक रूपान्तरणमा योगदान पुर्याउँदै आएको उल्लेख गरे।
उनले भने, “नेपालको गतिशीलता, आधुनिकता र आर्थिक रूपान्तरणको एउटा सशक्त मार्गचित्र कोर्न नाडा सफल हुनेछ।”
उपराष्ट्रपति यादवले जलविद्युत्को प्रचुर सम्भावना भएको नेपालले पेट्रोलियम पदार्थमा निर्भरता घटाउँदै विद्युतीय सवारीसाधनको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताए।
नेपालले इन्धन आयातका लागि वार्षिक रूपमा ठूलो रकम विदेश पठाइरहेको उल्लेख गर्दै उनले विद्युतीय सवारीको विस्तारलाई त्यसको प्रभावकारी विकल्पका रूपमा अघि बढाउनुपर्ने धारणा राखे।
उनले जलविद्युत् उत्पादन बढ्दै गएको अवस्थामा देशभित्र उत्पादन भएको स्वच्छ ऊर्जालाई यातायात क्षेत्रमा प्रयोग गर्न सके इन्धन आयातमा हुने ठूलो खर्च घटाउन सकिने बताए।
चार्जिङ पूर्वाधार विस्तारमा सरकार–निजी क्षेत्र सहकार्य आवश्यक
वातावरणमैत्री तथा प्रविधिमैत्री नेपाल निर्माणका लागि विद्युतीय सवारीको प्रयोगसँगै आवश्यक पूर्वाधार विस्तार गर्नुपर्नेमा पनि उपराष्ट्रपति यादवले जोड दिए।
उनले चार्जिङ स्टेसनलगायतका आवश्यक संरचना विस्तारका लागि सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताए।
उपराष्ट्रपति यादवले नाडा अटो शोले नेपालको अटोमोबाइल बजारलाई चलायमान बनाउन तथा उद्यमशीलताको विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गरे।
उनले अब केवल आयात र बिक्रीमा सीमित नभई नेपालमै अटोमोबाइल तथा त्यससँग सम्बन्धित उत्पादनको सम्भावनाबारे पनि ध्यान दिनुपर्ने बताए।
नेपाली अटोमोबाइल क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन नाडाले थप सक्रिय भूमिका खेल्नुपर्ने उनको भनाइ थियो। उनले अटोमोबाइल क्षेत्रको विकासले आन्तरिक उत्पादन, उद्यमशीलता र रोजगारी सिर्जनामा समेत योगदान पुर्याउने विश्वास व्यक्त गरे।
उपराष्ट्रपति यादवले नाडाको उद्देश्यअनुरूप देशको आर्थिक विकास र आधुनिक यातायात प्रणालीको विस्तारमा थप योगदान पुग्ने अपेक्षा गर्दै अटो शोको सफलताको शुभकामना व्यक्त गरे।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्