वीरगन्ज । सरकारले गठन गरेको वीरगन्जस्थित चिनी मिल पुनः सञ्चालनसम्बन्धी अध्ययन कार्यदलले मंगलबार पिपरास्थित चिनी मिल क्षेत्रको स्थलगत निरीक्षण गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर श्रीकान्त यादवको संयोजकत्वमा रहेको कार्यदलले कारखानाका भवन, मेसिनरी तथा पार्टपुर्जाको अवस्थाबारे जानकारी लिएको हो।
कार्यदलका संयोजक यादवका अनुसार स्थलगत निरीक्षणका क्रममा कारखानाको भौतिक संरचना, मेसिनरीको वर्तमान अवस्था तथा उपलब्ध सामग्रीको उपयोग सम्भावनाबारे अध्ययन गरिएको छ।
सरकारले वीरगन्ज चिनी मिल पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न भदौ १ गते कार्यदल गठन गरेको थियो।
१५ दिनभित्र प्रतिवेदन
कार्यदलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका शाखा अधिकृत ज्योति पौडेल र मन्त्रालयका सल्लाहकार श्याम शर्मा सदस्य रहेका छन्।
कार्यदलले १५ दिनभित्र चिनी मिलको वर्तमान अवस्था, पुनः सञ्चालनका सम्भावना तथा आवश्यक पूर्वाधारबारे विस्तृत अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाउनेछ। प्रतिवेदनका आधारमा मिल पुनः सञ्चालनका लागि आवश्यक कार्ययोजना तयार गरिने जनाइएको छ।
वीरगन्ज चिनी मिल लामो समयदेखि बन्द अवस्थामा रहेकाले यसको भौतिक संरचना तथा मेसिनरीको अवस्था मूल्यांकन गरी पुनः सञ्चालनको सम्भाव्यता पहिचान गर्न सरकारले अध्ययन प्रक्रिया अघि बढाएको हो।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्