ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 किस्पाङको भाल्चे भेडा फार्म : बरुवाल भेडाको संरक्षणदेखि पर्यटन प्रवर्द्धनसम्म


ABC NEWS
९ भदौ २०८३, मंगलबार   ७ : ५५   बजे

नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिका–१ स्थित भाल्चेमा रहेको भेडा आनुवंशिक स्रोत केन्द्र पछिल्लो समय स्थानीय बरुवाल जातको भेडा संरक्षण, नश्ल सुधार र कृषकलाई प्रजननयोग्य भेडा उपलब्ध गराउने महत्वपूर्ण केन्द्रका रूपमा स्थापित हुँदै गएको छ। समुद्री सतहबाट करिब दुई हजार मिटर उचाइमा रहेको यो फार्म अहिले कृषि अनुसन्धानसँगै आन्तरिक तथा विदेशी पर्यटकको समेत आकर्षण बनेको छ।

काठमाडौँबाट करिब १०१ किलोमिटर दूरीमा रहेको भाल्चे पुग्ने जो–कोहीले यहाँको प्राकृतिक दृश्यसँगै स्थानीय बरुवाल जातका भेडाको फार्म अवलोकन गर्ने गरेका छन्। राष्ट्रिय पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रवर्द्धन कार्यालय मातहत सञ्चालनमा रहेको केन्द्रसँग ६६० रोपनी जग्गा रहेको छ। सो क्षेत्रमा पर्याप्त खर्क र चरण क्षेत्रसमेत उपलब्ध छ।

हाल केन्द्रमा ३५४ वटा भेडा पालिएका छन्। स्रोत केन्द्रका कार्यालय प्रमुख डा. श्यामकृष्ण तिवारीका अनुसार केन्द्रको मुख्य उद्देश्य धेरैभन्दा धेरै भेडा पाल्नु मात्र नभई स्थानीय किसानलाई गुणस्तरीय तथा प्रजननयोग्य भेडा उपलब्ध गराउँदै उत्पादन वृद्धि गर्न प्रेरित गर्नु हो।

“हाम्रो कार्य विवरणमा भेडा धेरै पाल्नेभन्दा पनि किसानलाई उत्पादन बढाउन प्रेरित गर्ने लक्ष्य रहेको छ,” डा. तिवारीले बताउनुभयो।

किसानलाई प्रजननयोग्य भेडा

यस केन्द्रबाट नुवाकोटका दुईवटा तथा धादिङ र रसुवाका चारवटा किसान समूहले प्रजननका लागि भेडाका पाठापाठी खरिद गर्दै आएका छन्। किसान समूहले निवेदन दिएर वडा कार्यालयको सिफारिस प्राप्त गरेपछि आवश्यक राजस्व बुझाई केन्द्रबाट भेडा खरिद गर्न सक्ने व्यवस्था रहेको छ।

केन्द्रले भेडा मात्र उत्पादन र बिक्री गर्दैन, किसानलाई भेडापालनका लागि आवश्यक विभिन्न सामग्री तथा तालिमसमेत उपलब्ध गराउँदै आएको छ। ऊन काट्ने कैँची, त्रिपाल, रेनकोटलगायत सामग्री वितरणसँगै आधुनिक भेडापालनसम्बन्धी सीप विकासका कार्यक्रम पनि सञ्चालन गरिँदै आएको छ।

केन्द्रमा राईघाँस, सेटेरिया, किक्यु र पास्पालमजस्ता बहुवर्षीय घाँसका बीउ तथा बेर्ना उत्पादन र वितरणसमेत हुने गरेको छ।

बरुवाल जातको भेडाको संरक्षण र सुधारलाई प्राथमिकतामा राखिएको केन्द्रमा हालको चरण क्षेत्रले कम्तीमा एक हजार भेडासम्म धान्न सक्ने सम्भावना रहेको बताइएको छ। आगामी दिनमा भेडाको संख्या पाँच सयसम्म पुर्‍याउने योजना रहेको केन्द्रले जनाएको छ।

‘राजाको गोठ’देखि आनुवंशिक स्रोत केन्द्रसम्म

भाल्चेको यो क्षेत्रको इतिहास राणाकालीन सरकारी गाईगोठसँग जोडिएको छ। स्थानीयवासीले यसलाई लामो समयसम्म ‘राजाको गोठ’ भनेर चिन्ने गरेका थिए। त्यहाँ पालिएका गाईबाट उत्पादित दूध, दही, मही र घ्यू काठमाडौँस्थित दरबारमा पठाइने गरेको इतिहास छ।

पछि तत्कालीन सरकारले गाईगोठ हटाएर स्थानीय बरुवाल जातको भेडाको नश्ल सुधार, मासु तथा ऊन उत्पादन वृद्धि गर्ने उद्देश्यले भेडा फार्म स्थापना गरेको थियो।

विसं २०२७/२८ तिर अस्ट्रेलियन पोलवर्थ जात र स्थानीय बरुवाल भेडाबीच क्रस प्रजनन गरी उन्नत जातको भेडा उत्पादनसम्बन्धी अध्ययन र परीक्षण सुरु गरिएको थियो। त्यसपछि विभिन्न समयमा विदेशी जातका भेडासँग स्थानीय भेडाको प्रजनन गराई उत्पादकत्व वृद्धि गर्ने प्रयास गरिएको थियो।

विसं २०३० जेठ २६ गते तत्कालीन राजा वीरेन्द्र शाहले समेत फार्मको अवलोकन गरी यसको विस्तारका लागि निर्देशन दिएका थिए।

विसं २०३०/३१ देखि फार्ममा उत्पादन भएका उन्नत जातका थुमा प्रजननका लागि स्थानीय किसान तथा देशका विभिन्न जिल्लामा वितरण गर्न थालिएको थियो।

त्यसैगरी, विसं २०३५/३६ मा विश्व बैंकको ऋण सहयोगमा रसुवा–नुवाकोट एकीकृत ग्रामीण विकास परियोजना सञ्चालन भएपछि फार्मको भौतिक पूर्वाधार, भेडाको नश्ल सुधार, अध्ययन–अनुसन्धान तथा उत्पादन र वितरणका क्षेत्रमा थप सहयोग पुगेको थियो।

परियोजनाअन्तर्गत विसं २०३६ सालमा फ्रान्सबाट फ्रेन्च मेरिनो डार्ले जातका भेडासमेत ल्याइएको थियो। तर अन्य जातका भेडाबाट अपेक्षित परिणाम प्राप्त हुन नसकेपछि अहिले केन्द्रले स्थानीय बरुवाल जातको संरक्षण र प्रवर्द्धनमा विशेष ध्यान केन्द्रित गरेको छ।

भेडापालनसँगै कृषि सेवा

केन्द्रले स्थानीय कृषकको आवश्यकतालाई ध्यानमा राख्दै अन्य पशु प्रजननसम्बन्धी सेवा पनि उपलब्ध गराउँदै आएको छ। प्राकृतिक प्रजनन सेवा विस्तार गर्ने उद्देश्यले मुर्रा क्रस राँगो तथा जर्सी साँढेसमेत राखिएको छ।

राष्ट्रियस्तरमा भेडाको आनुवंशिक स्रोत संरक्षण, उत्पादकत्व वृद्धि तथा स्थानीय कृषकको आयआर्जन बढाउने उद्देश्यले केन्द्रले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

भेडापालनलाई व्यावसायिक र वैज्ञानिक बनाउँदै स्थानीय किसानको आर्थिक अवस्था सुधार गर्नु केन्द्रको प्रमुख उद्देश्य रहेको बताइएको छ।

पर्यटनको नयाँ गन्तव्य बन्दै भाल्चे

भाल्चेको प्राकृतिक सौन्दर्य र फराकिलो चरण क्षेत्रमा चरिरहेका भेडाको दृश्यले पर्यटकलाई आकर्षित गर्न थालेको छ। यसलाई थप व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने तयारीसमेत भइरहेको छ।

हालै किस्पाङ गाउँपालिकाका कार्यवाहक अध्यक्ष अर्जुनप्रसाद न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद खतिवडा, गायक थानेश्वर गौतम, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय सरोकारवाला तथा सञ्चारकर्मीको टोलीले फार्मको अवलोकन गरेको थियो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद खतिवडाका अनुसार भेडा फार्मलाई कृषि र पशुपालनसँगै पर्यटनको आकर्षक केन्द्रका रूपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माणको पहल भइरहेको छ।

भाल्चे भेडा आनुवंशिक स्रोत केन्द्रले एकातिर नेपालको मौलिक बरुवाल जातको संरक्षण गरिरहेको छ भने अर्कोतिर कृषकलाई प्रजननयोग्य भेडा, घाँसका बीउ, तालिम र आवश्यक सामग्री उपलब्ध गराएर स्थानीय अर्थतन्त्रमा योगदान पुर्‍याइरहेको छ।

प्राकृतिक सुन्दरता, ऐतिहासिक पृष्ठभूमि, वैज्ञानिक पशुपालन र पर्यटनको सम्भावनालाई एकसाथ जोड्न सकिए भाल्चेको यो भेडा फार्म नुवाकोट मात्र होइन, देशकै नमुना कृषि–पर्यटन गन्तव्य बन्न सक्ने सम्भावना देखिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पोखरा–दुबई उडानलाई दिगो बनाउन पर्यटन व्यवसायीको सक्रियता

लुम्बिनीका तीन नवनियुक्त मन्त्रीले लिए शपथ

सम्बन्धित

भारतले चार वर्षपछि गहुँ निर्यातको प्रतिबन्ध हटायो, किसानको आम्दानी बढ्ने अपेक्षा

बाँदर–बदेलको आतङ्कपछि पाल्पाका किसानको रोजाइ टिमुरखेती, वार्षिक तीन लाखसम्म आम्दानी

माटो जोगाउनेदेखि डिजिटल बजारसम्म: कृषिमा नयाँ ‘रोडम्याप’ अघि बढाउँदै सरकार

पशु रोग नियन्त्रण विधेयकमाथि सैद्धान्तिक छलफल, कानुन प्रभावकारी बनाउने प्रतिबद्धता

भारतीय सेनाबाट अवकाशपछि ड्रागन फ्रुटमा सफलता, वार्षिक ६० लाखसम्म आम्दानी

उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu