मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले दलको ह्वीप उल्लंघन गरी प्रदेशसभा बैठकमा अनुपस्थित हुने पाँच सांसदलाई कारबाही गर्ने बताएका छन्।
मंगलबार मुख्यमन्त्री किरण थापाले प्रदेशसभाबाट विश्वासको मत पाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले दलको निर्देशन नमानेका सांसदलाई कारबाही प्रक्रिया अघि बढाइने बताएका हुन्।
राप्रपा संसदीय दलले मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमा हुने मतदानका लागि प्रदेशसभा सदस्यलाई अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको थियो। तर पाँच सांसद बैठकमा अनुपस्थित भएका थिए।
‘राप्रपा बागमती संसदीय दलको सचेतक हामीले भदौ १ गते नै फेरेका हौँ। नवनियुक्त प्रमुख सचेतकले सबैलाई बैठकमा उपस्थित भएर विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गरेका थिए। दलको ह्वीप नमान्ने सांसदलाई कारबाही गर्छौँ,’ थापाले भने।
प्रदेश सरकारलाई निकास दिन सहयोग
थापाले बागमती प्रदेशलाई लामो समयसम्म अनिर्णयको अवस्थामा राख्न नहुने भएकाले राप्रपाले सरकार गठनमा सहयोग गरेको बताए।
‘बागमती प्रदेश सरकार गठनका लागि राप्रपा नै निर्णायक भएर आयो। प्रदेशका लागि निकास आवश्यक भयो, त्यसैले हामीले भूमिका निर्वाह गरेका हौँ,’ उनले भने।
संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठन नभएको भए अवस्था थप जटिल बन्ने उनको भनाइ थियो।
राप्रपाका सात सांसदले दिए विश्वासको मत
बागमती प्रदेशसभामा राप्रपाका १२ सांसद छन्। त्यसमध्ये संसदीय दलका नेता उद्धव थापा, नवनियुक्त मन्त्री गिरबहादुर तामाङ, राजु श्रेष्ठ र राजेन्द्र प्रजापति तथा सांसद मनिका श्रेष्ठ, नुरज बज्राचार्य र डम्बर तामाङले मुख्यमन्त्री थापाको पक्षमा मतदान गरेका थिए।
राप्रपाका कुमारी तामाङ, लक्ष्मी घिमिरे, भुवन पाठक, आशा लामा र धनेश्वरी प्रजापति भने प्रदेशसभा बैठकमा उपस्थित भएनन्।
राप्रपाका सात सांसदले मुख्यमन्त्रीको पक्षमा मतदान गर्दा पाँच सांसद अनुपस्थित भएका थिए। राप्रपाका सांसदको समर्थनसहित मुख्यमन्त्री थापाले ५७ मत प्राप्त गरी प्रदेशसभाबाट विश्वासको मत हासिल गरेका हुन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्