सप्तरी । सप्तरीमा दुई वर्षीया बालिकाको हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा शम्भुनाथ नगरपालिका–२ कन्कपट्टी टोल घर भई हाल वडा नम्बर ३ स्थित ट्राफिक बजारमा बस्दै आएकी २५ वर्षीया जास्मिन खातुन रहेकी छन्। उनलाई मुस्कान नामले समेत चिनिने प्रहरीले जनाएको छ।
गत भदौ ७ गते बिहान करिब १०ः३५ बजे शम्भुनाथ नगरपालिका–३ स्थित एक घरपछाडिको झाडीमा दुई वर्षीया बालिका मृत अवस्थामा फेला परेकी थिइन्। घटनापछि मृतक बालिकाकी आमा रुबिना खातुनले दिएको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानका क्रममा पक्राउ परेकी जास्मिन खातुनले प्रारम्भिक सोधपुछका क्रममा बालिकाको हत्या आफूले गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार जास्मिन मृतक बालिकाका बुबा मोहम्मद इरफानकी कान्छी श्रीमती हुन्।
घटनासम्बन्धमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ। थप अनुसन्धानका लागि सप्तरी जिल्ला अदालतबाट जास्मिनलाई पाँच दिन हिरासतमा राख्न अनुमति लिइएको प्रहरीले जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्