काठमाडौं । आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न मुलुकमा रोजगारीका लागि पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार पत्रकार सम्मेलनमार्फत उनीहरूलाई पक्राउ गरिएको जानकारी दिएको हो।
पक्राउ पर्नेमा झापा घर भई काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१० बस्ने २९ वर्षीया सुष्मा भण्डारी, सिन्धुली घर भई कागेश्वरी मनोहरा नगरपालिका–९ बस्ने २८ वर्षीया करिना देवकोटा, झापा घर भई काठमाडौं महानगरपालिका–३ बस्ने २७ वर्षीय साजन खनाल, दोलखा घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका–१ बस्ने ३४ वर्षीय पेमा लामा र ओखलढुंगा घर भई काठमाडौं महानगरपालिका–१५ बस्ने २७ वर्षीया तोमकुमारी थापा छन्।
प्रहरीका अनुसार सुष्माले चेक रिपब्लिक पठाइदिने भन्दै ५ लाख ३५ हजार रुपैयाँ, करिनाले लिथुआनिया पठाइदिने भन्दै २ लाख ५० हजार रुपैयाँ, साजनले फिनल्यान्ड पठाइदिने भन्दै १२ लाख रुपैयाँ, पेमाले रोमानिया पठाइदिने भन्दै १ लाख रुपैयाँ र तोमकुमारीले माल्टा पठाइदिने भन्दै १ लाख ३५ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए।
पीडितहरूको उजुरीका आधारमा अनुसन्धान अघि बढाएर उनीहरूलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताए।
उनका अनुसार सुष्मालाई बूढानीलकण्ठ नगरपालिका–१०, करिना र साजनलाई काठमाडौं महानगरपालिका–३, पेमालाई काठमाडौं महानगरपालिका–१२ तथा तोमकुमारीलाई काठमाडौं महानगरपालिका–१५ बाट पक्राउ गरिएको हो।
पक्राउ परेका पाँचै जनालाई मंगलबार आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्