काठमाडौं । नेपाल टेलिकमले एकैपटक हजारौँ टेलिफोन तथा मोबाइल प्रयोगकर्तालाई बढीमा एक मिनेटसम्मको पूर्वरेकर्डेड व्यावसायिक तथा सूचनामूलक सन्देश भ्वाइस म्यासेजका रूपमा पठाउन सकिने ‘आउटबाउन्ड आईभीआर (Interactive Voice Response)’ सेवा सञ्चालनमा ल्याएको छ।
टेलिकमले केही समयदेखि आन्तरिक प्रयोजनका लागि परीक्षणका रूपमा सञ्चालन गर्दै आएको उक्त सेवा अब व्यावसायिक रूपमा उपलब्ध गराएको हो। कम्पनीका अनुसार यो सेवा संस्थागत तथा व्यक्तिगत दुवै ग्राहकका लागि उपयोगी हुनेछ।
यो सेवा सामूहिक सूचना प्रवाह प्रणालीका रूपमा प्रयोग गर्न सकिनेछ। कुनै सूचना, परीक्षाको नतिजा, प्रचारप्रसार वा प्रवर्द्धनात्मक सामग्री धेरै व्यक्तिसम्म एकैपटक पुर्याउन सेवा उपयोगी हुने टेलिकमले जनाएको छ।
सेवा लिन चाहने कार्यालय, व्यवसायी वा अन्य सूचना प्रवाहकर्ताले कल गर्नुपर्ने नम्बरहरूको सूची तथा सन्देशसहितको भ्वाइस फाइल नेपाल टेलिकमलाई उपलब्ध गराउनुपर्नेछ। निर्धारित प्रक्रिया पूरा गरेपछि टेलिकमले ती नम्बरमा स्वचालित रूपमा कल गर्नेछ।
कलर आईडीमा सेवाग्राहीकै नम्बर
आउटबाउन्ड आईभीआर सेवामार्फत कल प्राप्त गर्ने प्रयोगकर्ताको मोबाइल वा टेलिफोनमा सन्देश पठाउने सेवा प्रदायक वा ग्राहकको नाममा दर्ता रहेको नम्बर नै कलर आईडीका रूपमा देखिनेछ।
सेवा लिन इच्छुक सेवा प्रदायक वा ग्राहकले हाललाई दूरसञ्चार कार्यालय सुन्धारामार्फत निर्धारित फारम भरेर सेवा लिन सक्ने टेलिकमले जनाएको छ।
कम्पनीले ठूलो संख्यामा प्रयोगकर्तालाई एकैपटक स्वचालित रूपमा सूचना तथा सन्देश पुर्याउन सकिने भएकाले आगामी दिनमा यस सेवाको माग थप बढ्ने विश्वास व्यक्त गरेको छ।
सेवासम्बन्धी थप जानकारी नेपाल टेलिकमको वेबसाइटमार्फत लिन सकिनेछ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्