काठमाडौँ, १० भदौ । रसुवामा आएको भोटेकोसी नदीको बाढी त्रिशूली नदीतर्फ बढेपछि नदी आसपासका बस्ती तथा बजार क्षेत्र खाली गर्न चेतावनी जारी गरिएको छ ।
बाढी पूर्वानुमान महाशाखाले बुधबार बिहान १०ः५१ बजे जारी गरेको सूचनाअनुसार भोटेकोसीको बाढी धादिङको गल्छी आसपास पुगिसकेको छ । अबको केही घण्टामा बाढी मुग्लिन क्षेत्र पार गर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले पृथ्वी राजमार्ग, मुग्लिन–नारायणगढ सडकखण्ड तथा त्रिशूली नदी आसपासका बस्ती र बजार क्षेत्र तत्काल खाली गरी उच्च सतर्कतासहित सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।
बाढीको जोखिम कायमै रहेकाले त्रिशूली नदी तथा आसपासका क्षेत्रमा आवतजावत र अन्य गतिविधि नगर्नसमेत अनुरोध गरिएको छ ।
नदी किनारमा रहेका संरचना तथा सम्पत्ति सुरक्षित राख्न र सम्भावित जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।
भोटेकोसीको बाढी त्रिशूली नदीमा मिसिएपछि तल्लो तटीय क्षेत्रमा थप जोखिम बढ्न सक्ने भएकाले स्थानीय प्रशासन तथा सुरक्षा निकायले समेत सतर्कता अपनाउन आग्रह गरेका छन् ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्