काठमाडौं । टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ टोलीले बुधबार अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग प्रतिस्पर्धा गर्दैछ। अस्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ।
तीन खेल खेलिसकेको नेपाल ‘ए’ टोली चौथो खेलमा मैदान उत्रँदै गर्दा लगातार दोस्रो जितको खोजीमा हुनेछ। नेपालले सुरुआती दुई खेलमा हार बेहोरे पनि तेस्रो खेलमा प्रभावशाली पुनरागमन गरेको थियो।
पहिलो खेलमा नेपाल ‘ए’ नर्दन टेरिटोरी स्ट्राइकसँग आठ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा नेपाली टोली बंगलादेशको टोलीसँग नौ विकेटको फराकिलो हार बेहोर्न बाध्य भएको थियो।
तर, तेस्रो खेलमा नेपाल ‘ए’ ले होबर्ट हरिकेन्स एकेडेमीलाई ३९ रनले पराजित गर्दै सिरिजमा पहिलो जित निकालेको थियो। उक्त जितपछि उत्साहित नेपाली टोली अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्ध पनि विजयी यात्रा कायम राख्ने लक्ष्यमा रहेको छ।
तालिकामा दुई अंक जोडेको नेपाल ‘ए’ टोली सातौँ स्थानमा रहेको छ। उता, अस्ट्रेलियन क्यापिटल टेरिटोरीले खेलेका तीनवटै खेलमा हार बेहोरेको छ र टोली अंकतालिकाको पुछारमा छ।
नेपाल ‘ए’ ले यस सिरिजमा अब बिहीबार हैदरावाद किंग्समेन एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछ। त्यसपछि नेपाली टोलीले शनिबार आफ्नो अन्तिम खेल भिक्टोरिया सीए इलाभेनसँग खेल्ने तालिका रहेको छ।
नेपाल ‘ए’ को आगामी खेल तालिका
- बुधबार: अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्ध
- बिहीबार: हैदरावाद किंग्समेन एकेडेमीविरुद्ध
- शनिबार: भिक्टोरिया सीए इलाभेनविरुद्ध
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्