काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रसुवामा आएको बाढीबाट प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहत कार्यमा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत बाढीबाट भएको ठूलो क्षतिप्रति दुःख व्यक्त गर्दै रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी किनारमा बसोबास गर्ने स्थानीयवासीलाई सुरक्षित स्थानमा जान अपिल गर्नुभएको हो ।
उहाँले एमालेका पार्टी कमिटी, जनसंगठन तथा स्वयंसेवकहरूलाई स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी उद्धार कार्यमा सहयोग गर्न तयारी अवस्थामा रहन आग्रह गर्नुभएको छ ।
ओलीले भन्नुभएको छ, “पार्टी, जनसंगठन र स्वयंसेवकहरूलाई स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गरी उद्धार कार्यमा सहयोगका लागि तयारी अवस्थामा रहन आग्रह गर्दछु।”
प्रभावितलाई सहयोग गर्न आग्रह
अध्यक्ष ओलीले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन पार्टीका तर्फबाट हरसम्भव प्रयास गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
उहाँले बाढीको जोखिममा रहेका नदी किनारका बासिन्दालाई सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षित स्थानमा बस्नसमेत आग्रह गर्नुभएको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्