रसुवा । आज बिहान रसुवाको भोटेकोसीमा आएको बाढीले धनजनको ठुलो क्षति भएको छ। विद्युत आयोजना, पुल, सरकारी कार्यालय, निजी घर तथा गाउँसमेत बाढीले बगाएको जानकारी प्राप्त भएको छ। यद्यपि, क्षतिको विस्तृत विवरण अझैसम्म उपलब्ध छैन।
गत वर्ष पनि असार २४ गते भोटेकोसीमा भीषण बाढी आएको थियो। त्यसको ठीक १४ महिनापछि फेरि सोही क्षेत्रमा ठूलो बाढी आएको हो, जुन गत वर्षकै भन्दा पनि ठूलो भएको बताइएको छ।
भोटेकोसी नदी रसुवागढीको टिमुरे हुँदै त्रिशूली नदीमा मिसिन्छ। स्थानीयवासीले सिन्धुपाल्चोकबाट आउने नदीलाई जस्तै रसुवाबाट आउने नदीलाई पनि भोटेकोसीकै नामले चिन्छन्।
नदीको उद्गमस्थल र मार्ग
तिब्बत क्षेत्रमा यो नदी ल्हेन्दे खोलाको नामले परिचित छ। भोट हुँदै आउने भएकाले यसलाई भोटेकोसी भनिन्छ। यद्यपि, सिन्धुपाल्चोक र रसुवाका यी दुईवटा नदी वास्तवमा फरक हुन्। सिन्धुपाल्चोक जिल्लाको नदी तिब्बतको झाङ्मु क्षेत्रबाट उत्पत्ति भएर नेपाल प्रवेश गर्छ र सोही स्थानमा यसलाई भोटेकोसी भनिन्छ।
आज बाढी आएको रसुवागढी नाकाको भोटेकोसी चीनको तिब्बतको केरुङ आसपासको क्षेत्रबाट उत्पत्ति भएर नेपाल प्रवेश गर्दछ। यो नदी दक्षिणतर्फ बग्दै रसुवाको चिलिमे नजिक त्रिशूली नदीमा मिसिन्छ। त्रिशूली नदी फेरी दक्षिणतिर बहने क्रममा देवघाट हुँदै गण्डकी प्रणालीमा जोडिन्छ। अन्ततः, गण्डकी नदी भारतको गंगा नदीसम्म पुग्दछ।
हिमालयदेखि गंगासम्म
रसुवाको भोटेकोसी नदी हिमालय क्षेत्रको सीमाबाट सुरु भएर त्रिशूलीमा मिसिन्छ। यसरी, यो नदी विभिन्न चरण हुँदै अन्ततः गंगा नदीसम्म पुग्छ। बाढीले गर्दा स्थानीयवासीमा त्रास फैलिएको छ र उनीहरु तत्काल राहतको अपेक्षा गरिरहेका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्