काठमाडौं । भोटेकोसीमा आएको बाढीबाट प्रभावित तथा घाइतेहरूको उपचारका लागि सशस्त्र प्रहरी बलले बलम्बुस्थित आफ्नो अस्पतालमा १०० वटा बेड तयारी अवस्थामा राखेको छ ।
बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइतेलाई तत्काल उपचार सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालमा १०० वटा बेड खाली गरी तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
सशस्त्र प्रहरी बलका डीएसपी शैलेन्द्र थापाका अनुसार अस्पतालले सम्भावित रूपमा घाइतेको संख्या बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्यकर्मी तथा उपचारको व्यवस्था मिलाएको छ ।
भोटेकोसी क्षेत्रमा आएको बाढीबाट जनधनको क्षति भएको प्रारम्भिक जानकारी आए पनि क्षतिको विस्तृत विवरण भने अझै प्राप्त हुन सकेको छैन ।
क्षतिको विवरण संकलन हुँदै
बाढीबाट भएको वास्तविक क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ । स्थानीय प्रशासन तथा सुरक्षा निकायले प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यसँगै क्षतिको विवरण संकलन गरिरहेका छन् ।
घटनाको विस्तृत विवरण प्राप्त भएपछि मात्रै बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको यकिन विवरण सार्वजनिक हुने बताइएको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्