काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीको सम्भावित कारण हिमपहिरो भएको विपद्विज्ञ वसन्तराज अधिकारीले बताएका छन्। उनका अनुसार रसुवा बजारबाट करिब २० किलोमिटरमाथि रहेको लेन्दे खोलाको माथिल्लो क्षेत्रमा हिमपहिरो जाँदा खोला थुनिएको र पछि थुनिएको पानी एक्कासि फुट्दा ठूलो बाढी आएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।
विपद्विज्ञ अधिकारीले लेन्दे खोलाको माथिल्लो भागमा हिमपहिरो गएर प्राकृतिक रूपमा अस्थायी बाँध बनेको र त्यसपछि उक्त बाँध फुट्दा ठूलो परिमाणमा पानी एकैपटक तलतर्फ आएको हुनसक्ने बताए।
‘रसुवा बजारबाट २० किलोमिटरमाथि लेन्दे खोला छ, त्यहाँमाथिबाट आएको हिमपहिरोले बाढी आएको देखिन्छ। हिमपहिरो गएर खोला थुनियो र पछि फुटेर बाढी आयो,’ अधिकारीले बाह्रखरीसँग भने।
उनका अनुसार घटनास्थलको प्रत्यक्ष वा ‘ग्राउन्ड’ फोटो तथा विस्तृत प्राविधिक विवरण अझै प्राप्त भइनसकेकाले बाढीको वास्तविक कारणबारे अन्तिम निष्कर्षमा पुग्न भने बाँकी छ।
बिहान ८:३७ बजे ४.५ म्याग्निच्युडको भूकम्प
यसैबीच, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार लेन्दे क्षेत्रलाई केन्द्र बनाएर बुधबार बिहान ८ बजेर ३७ मिनेटमा ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो।
विपद्विज्ञ अधिकारीले उक्त भूकम्प र त्यसपछि भएको सम्भावित हिमपहिरोबीच सम्बन्ध हुनसक्ने प्रारम्भिक सम्भावना पनि औँल्याएका छन्।
‘उक्त भूकम्पले पनि हिमपहिरो जान भूमिका खेलेको हुनसक्छ,’ उनले भने।
भूकम्पपछि हिम वा चट्टान खसेर खोला थुनिएको र त्यसपछि अस्थायी प्राकृतिक बाँध फुट्दा लेन्दे खोलामा अचानक ठूलो बाढी आएको हुनसक्ने अनुमान गरिएको छ। यद्यपि, यसको वैज्ञानिक पुष्टि हुन बाँकी रहेको अधिकारीले बताएका छन्।
रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदी प्रणालीमा फैलिएको बाढीले टिमुरे, स्याफ्रुबेँसीलगायतका क्षेत्रमा ठूलो जनधन र भौतिक क्षति पुर्याएको छ। बाढीको वास्तविक उत्पत्ति र कारण पत्ता लगाउन प्राविधिक अध्ययन तथा घटनास्थलको प्रत्यक्ष अवलोकन आवश्यक रहेको सम्बन्धित विज्ञहरूले बताएका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्