काठमाडौं । बुधबार बिहान रसुवाको भोटेकोशी खोलामा आएको विनाशकारी बाढीले नेपाल–चीन सीमावर्ती टिमुरे क्षेत्रस्थित भन्सार कार्यालय र आसपासको व्यापारिक पूर्वाधारमा व्यापक क्षति पुर्याएको छ। बाढीले भन्सार यार्डमा राखिएका २२० देखि २५० वटासम्म मालवाहक कन्टेनर बगाएको प्रारम्भिक अनुमान गरिएको छ।
नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीका अनुसार बाढीपछिको क्षतिको विवरण संकलन गर्न संघको बैठक बसेको थियो। प्रारम्भिक विवरणअनुसार टिमुरे भन्सार क्षेत्रमा रहेका सयौं मालवाहक कन्टेनरमध्ये ठूलो संख्या बाढीको तीव्र बहावमा परेको हो।
कार्कीले भने, “बाढीपछिको क्षति अनुमान गर्न हाम्रो संघको बैठक बसेका थियौँ। प्रारम्भिक विवरणअनुसार २२० देखि २५० वटासम्म मालवाहक कन्टेनर बगेको अनुमान छ।”
व्यवसायी, चालक र सहचालकको खोजी
बाढीले व्यापारिक संरचना मात्र नभई त्यस क्षेत्रमा रहेका व्यवसायी, चालक र सहचालकसँग समेत सम्पर्क विच्छेद गराएको छ। नेपाल हिमालय सीमापार वाणिज्य संघले सम्पर्कविहीन व्यक्तिहरूको विवरण संकलन सुरु गरेको जनाएको छ।
कार्कीका अनुसार हालसम्म करिब ८० जनाको नाम संकलन गरिएको छ। उनीहरू अधिकांश स्थानीयबाहिरबाट रसुवागढी नाका हुँदै चीनसँगको व्यापारिक गतिविधिमा संलग्न व्यवसायी, मालवाहक सवारी चालक तथा सहचालक रहेको बताइएको छ।
यद्यपि, ती सबै व्यक्ति बाढीमा परेका हुन् वा सम्पर्क तथा सञ्चार अवरुद्ध भएका कारण सम्पर्कविहीन भएका हुन् भन्ने विषय अझै यकिन हुन बाँकी छ।
६०–७० जना सुरक्षित रहेको जानकारी
यसबीच, बाढी प्रभावित क्षेत्रमा रहेका केही व्यक्तिसँग सम्पर्क स्थापित भएको संघले जनाएको छ। कार्कीका अनुसार करिब ६० देखि ७० जना सुरक्षित स्थानमा रहेको जानकारी प्राप्त भएको छ।
“सुरक्षित स्थानमा बसेकाहरूसँग एकपटक सम्पर्क भएको छ,” उनले भने, “तर अझै धेरै मानिसको अवस्थाबारे स्पष्ट जानकारी आउन बाँकी छ।”
टिमुरे, रसुवागढी र आसपासका क्षेत्रमा सञ्चार सेवा तथा सडक सम्पर्कमा गम्भीर समस्या देखिएकाले बेपत्ता तथा सम्पर्कविहीन व्यक्तिहरूको यकिन विवरण तयार गर्न कठिनाइ भइरहेको बताइएको छ।
नेपाल–चीन व्यापारिक नाकामा ठूलो धक्का
टिमुरे–रसुवागढी क्षेत्र नेपाल र चीनबीचको प्रमुख स्थल व्यापारिक मार्गमध्ये एक हो। भन्सार यार्डमा सयौं कन्टेनर, मालसामान र व्यापारसँग सम्बन्धित संरचना रहने भएकाले बाढीले यस क्षेत्रमा पुर्याएको क्षतिले सीमापार व्यापार र आपूर्ति प्रणालीमा समेत गम्भीर असर पर्ने देखिएको छ।
भोटेकोशीमा आएको अस्वाभाविक बाढीले टिमुरे बजार, भन्सार कार्यालय, सडक, पुल तथा नदी किनारका विभिन्न संरचनामा क्षति पुर्याएको प्रारम्भिक विवरण आएका छन्। वास्तविक क्षतिको विवरण भने उद्धार तथा खोजी कार्य अगाडि बढेपछि मात्र स्पष्ट हुने अधिकारीहरूले बताएका छन्।
हाल सुरक्षा निकाय, स्थानीय प्रशासन तथा विभिन्न उद्धार टोली प्रभावित क्षेत्रमा खोजी, उद्धार र क्षति विवरण संकलनमा जुटिरहेका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्