काठमाडौँ । भोटेकोसी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्निर्माणका लागि भारत, चीन र विश्व बैंकले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
बाढीबाट भएको क्षतिको समाचार सार्वजनिक भएपछि बुधबार बिहान अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भएको समन्वयमा नेपाल हेर्ने विश्व बैंकका राष्ट्रिय निर्देशक डेविड सिस्लेनले आपत्कालीन सहयोगस्वरूप विभिन्न स्रोतबाट २५ अर्ब रुपैयाँसम्म सहयोग गर्न सकिने जानकारी गराएका छन्।
यस्तै, दक्षिणी छिमेकी भारतले बाढीपीडितका लागि तत्काल आवश्यक राहत सामग्रीको सूची उपलब्ध गराउन नेपाल सरकारसँग आग्रह गरेको छ। परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय सहयोग सामग्री बुधबार नै काठमाडौं ल्याउने तयारी भइरहेको जानकारी दिएका छन्।
उत्तरी छिमेकी चीनले पनि बाढीपीडितका लागि तत्काल नगद सहयोग उपलब्ध गराउने भएको छ। चिनियाँ राजदूत जाङ माओमिङले अर्थमन्त्रीमार्फत नेपाल सरकारलाई सहयोग रकम पठाउने प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्।
सरकारद्वारा सहयोगको मोडालिटीबारे छलफल
छिमेकी मुलुक तथा दातृ निकायबाट प्राप्त सहयोगको प्रतिबद्धताप्रति अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आभार व्यक्त गरेका छन्।
अर्थ मन्त्रालयका अनुसार प्राप्त सहयोगलाई प्रभावकारी रूपमा परिचालन गर्न अन्तरसरकारी समन्वय तथा सहयोगको मोडालिटीबारे छलफल भइरहेको छ।
यसैबीच, मन्त्रिपरिषद् बैठकले रसुवा, नुवाकोट र धादिङका प्रभावित पालिकाहरूलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ। यससँगै प्रभावित क्षेत्रमा स्वदेशी तथा विदेशी स्रोतबाट राहत, उद्धार र पुनर्निर्माणका लागि थप सहयोग जुटाउने बाटो खुलेको सरकारले जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्