काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले भोटेकोसी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन ‘केन्द्रीय खोज उद्धार राहत समन्वय समिति’ गठन गरेको छ ।
पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बुधबार बसेको केन्द्रीय कार्यसंयोजन समितिको आकस्मिक बैठकले बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपुरमा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार तथा राहतका लागि विभिन्न निर्णय गरेको प्रवक्ता प्रकाश ज्वालाले बताए ।
बैठकले घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । बेपत्ता नागरिकको खोज तथा उद्धारका लागि सम्पूर्ण जनशक्ति, संयन्त्र र स्रोतसाधन परिचालन गर्न तीनै तहका सरकार, सुरक्षा निकाय, राजनीतिक दल, सामाजिक संघ–संस्था, नागरिक समाज र आम नागरिकलाई अपिल गरेको छ ।
बैठकले उद्धार गरिएका नागरिकका लागि आधारभूत राहत, विस्थापितका लागि अस्थायी बसोबास तथा पुनर्स्थापना र मृतकका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउन सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेको छ ।
त्यस्तै, भोटेकोसी, त्रिशूली र नारायणी नदीका तटीय क्षेत्रमा बाढीको जोखिम कायमै रहेकाले थप क्षति हुन नदिन सुरक्षा सतर्कता बढाउन तथा खोज, उद्धार र उपचारका लागि पूर्वतयारी गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ ।
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य उपचार, खानेपानी, विद्युत्, यातायात, टेलिफोन तथा सरसफाइजस्ता अत्यावश्यक सेवा तत्काल सञ्चालन गर्न पनि सरकारसँग माग गरिएको छ ।
पार्टीले हिमाल तथा ग्लेसियर पग्लिने र हिमताल फुट्ने लगायतका जोखिमबाट उत्तरी सीमावर्ती क्षेत्रमा हुने सम्भावित जनधनको क्षति रोक्न नेपाल–चीन द्विपक्षीय संयन्त्र सक्रिय बनाउन सरकारलाई आग्रह गरेको छ । दीर्घकालीन रूपमा यस्ता समस्या समाधानका लागि चीनसँग कूटनीतिक पहल गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको छ ।
बैठकले बाढी प्रभावित नागरिकको खोज, उद्धार, उपचार, राहत र अस्थायी बसोबासका कार्यमा तीनै तहका सरकार तथा सम्बन्धित निकायसँग समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ ।
केन्द्रीय कार्यसंयोजन समिति सदस्य तथा वाग्मती प्रदेश इञ्चार्ज गंगालाल तुलाधरको संयोजकत्वमा गठन गरिएको समन्वय समितिमा उपत्यका विशेष तथा संघीय सम्पर्क समन्वय समितिका इञ्चार्ज र संयोजक, वाग्मती प्रदेश समिति संयोजक, रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा र नवलपुरका इञ्चार्ज तथा संयोजक, विपद् व्यवस्थापन, स्वास्थ्य तथा जन–स्वयंसेवा विभागका प्रमुख तथा महिला, युवा र विद्यार्थी संगठनका इञ्चार्ज र संयोजक रहनेछन् ।
पार्टीले आफ्ना नेता, कार्यकर्ता, जनप्रतिनिधि तथा जनवर्गीय र मोर्चा संगठनलाई बाढी प्रभावित क्षेत्रमा तत्काल खोज, उद्धार तथा राहत कार्यमा सक्रिय रूपमा परिचालित हुन विशेष निर्देशनसमेत दिएको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्