काठमाडौं । नेकपा एमालेले भोटेकोसी बाढीबाट प्रभावित नागरिकको जीवनरक्षा, तत्काल उद्धार तथा राहतका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्न सरकारसँग माग गरेको छ।
बुधबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले चीनको तिब्बततर्फबाट आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा भएको जनधन तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै तत्कालीन र दीर्घकालीन राहतको प्याकेज घोषणा गर्न सरकारसँग जोडदार माग गरेको हो।
बैठकपछि अध्यक्ष केपी शर्मा ओलीद्वारा जारी विज्ञप्तिमा विपद्मा परेका नागरिकको जीवनरक्षा राज्यको पहिलो दायित्व भएको उल्लेख गर्दै बेपत्ता व्यक्तिको खोजी तथा उद्धार, जोखिममा रहेका नागरिकको स्थानान्तरण तथा पुनर्स्थापना र घाइतेको तत्काल उपचार गर्न माग गरिएको छ।
एमालेले मानवीय तथा भौतिक क्षतिको विवरण तत्काल संकलन गरी विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्र, साधन–स्रोत र उपलब्ध विकल्प अविलम्ब परिचालन गर्न सरकारलाई आग्रह गरेको छ।
एकीकृत रूपमा उद्धार र राहतमा जुट्न अपिल
एमालेले विपद्को कठिन परिस्थितिमा संघ, प्रदेश र स्थानीय सरकार, जनप्रतिनिधि, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज, सामाजिक संघसंस्था तथा आमनागरिकबीच एकीकृत सहयोग, समन्वय, सहकार्य र ऐक्यबद्धता आवश्यक रहेको जनाएको छ।
बाढीमा फसेका नागरिकको तत्काल उद्धार, घाइतेको निःशुल्क तथा प्रभावकारी उपचार र प्रभावित परिवारलाई द्रुत रूपमा राहत सामग्री उपलब्ध गराउन सबै पक्ष एकजुट हुन एमालेले अपिल गरेको छ।
पार्टीले आफ्ना नेता, कार्यकर्ता, जनसंगठनका सदस्य तथा जनप्रतिनिधिलाई प्रभावित क्षेत्रमा तत्काल पुगेर खोजी, उद्धार तथा राहत कार्यमा सक्रिय रूपमा जुट्न समेत निर्देशन दिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्