धादिङ । भोटेकोसी नदीको बाढी त्रिशूली नदीमा मिसिएपछि धादिङ जिल्लाका विभिन्न क्षेत्रमा ठूलो भौतिक क्षति पुगेको छ।
जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार बाढीले हालसम्म तीनवटा मोटरेबल पुल र १० वटा झोलुंगे पुलमा क्षति पुर्याएको छ। पुलहरूमा क्षति पुगेपछि जिल्लाका विभिन्न स्थानमा यातायात सम्पर्क प्रभावित भएको छ।
हालसम्म धादिङमा बाढीका कारण मानवीय क्षतिको विवरण प्राप्त नभएको प्रशासनले जनाएको छ। यद्यपि, भोटेकोसी नदीले बगाएर ल्याएका शव धादिङका विभिन्न क्षेत्रमा फेला पर्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै खोजी तथा उद्धार कार्य जारी राखिएको छ।
बस्ती र कृषि क्षेत्रमा पनि क्षति
बाढीले पुल तथा सडक संरचनासँगै नदी आसपासका बस्ती र कृषि क्षेत्रमा समेत क्षति पुर्याएको प्रशासनले जनाएको छ।
बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ। पूर्ण तथ्यांक प्राप्त हुन केही समय लाग्ने प्रशासनको भनाइ छ।
बाढीका कारण नदी आसपासका क्षेत्रमा आवागमन प्रभावित भएपछि स्थानीयवासीलाई समस्या भएको छ। प्रभावित नागरिकले तत्काल राहत तथा आवश्यक सहयोग उपलब्ध गराउन माग गरेका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्