काठमाडौं । टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ टोलीले लगातार दोस्रो जित दर्ता गरेको छ। बुधबार भएको खेलमा नेपालले अस्ट्रेलियन क्यापिटल टेरिटोरीलाई चार विकेटले पराजित गर्दै सिरिजमा लगातार दोस्रो जित हात पारेको हो। टेरिटोरीले दिएको १४१ रनको लक्ष्य नेपालले चार बल अगावै ६ विकेटको क्षतिमा भेट्टायो।
नेपालका लागि कप्तान कुशल भुर्तेलले सर्वाधिक ६१ रनको योगदान दिए। उनले ४७ बलमा ५ चौका र १ छक्का प्रहार गर्दा रनआउट हुन पुगे। ओपनर मयन यादव २१ रन बनाउँदा कट एन्ड बोल्ड हुन पुगे। कुशल मल्ल ६ रन बनाउँदा एलबीडब्लूको धरापमा परे। तृतराज दास शून्य रनमा नै आउट भए। लोकेश बम १२ र नारायण जोशी तीन रनमा क्याच आउट हुन पुगे। पवन सर्राफ २९ र विपिन खत्री तीन रनमा अविजित रहे। पवनले २२ बलमा ३ चौका प्रहार गरे। टेरिटोरीका लागि ज्याक किओले तीन विकेट लिए। जित मेहताले दुई विकेट झारे।
त्यसअघि अस्ट्रेलियाको डर्विनस्थित मरारा क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको टेरिटोरीले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १४० रनको योगफल तयार पारेको थियो। टेरिटोरीका लागि डिलन हन्टरले सर्वाधिक ४४ रनको योगदान दिए। अंश तिवारी र कप्तान निक ब्रोएसले समान १९ रन बनाए। जेक स्मिथले १४ रन बनाए। नेपालका लागि कुशल भुर्तेलले दुई ओभरमा नौ रन खर्चेर तीन विकेट लिए। युवराज खत्रीले दुई विकेट लिए। पवन सर्राफ, विपिन खत्री र सहाब आलमले समान एक विकेट लिए।
सुरुवाती दुई खेलमा हार भोगेको नेपालले पछिल्ला दुई खेलमा भने लगातार जित निकालेको छ। पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग आठ विकेटले पराजित भएको नेपाली टोली दोस्रो खेलमा बंगलादेशको टोलीसँग नौ विकेटको फराकिलो हार बेहोरेको थियो। तेस्रो खेलमा होबर्ट हरिकेन्स एकेडेमीलाई ३९ रनले जित निकालेको थियो। टेरिटोरीले भने सिरिजमा आफुले खेलेका चारै खेलमा हार व्यहोरेको छ। नेपालले बिहीबार हैदरावाद किंग्समेन एकेडेमीसँग र अन्तिम खेलमा शनिबार भिक्टोरिया सिए इलाभेनसँग खेल्ने तालिका छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्