काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्न प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई आग्रह गरेका छन्।
राष्ट्रपति पौडेलले बुधबार साँझ प्रधानमन्त्री शाहलाई टेलिफोन गरी रसुवासहित भोटेकोसी नदीको तटीय क्षेत्रमा आएको बाढीबाट भएको जनधनको क्षति तथा उद्धारको अवस्थाबारे जानकारी लिएका हुन्।
राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपतिले विपद्मा परेका नागरिकको खोजी, उद्धार र राहत कार्यलाई उच्च प्राथमिकतामा राखेर तीव्रता दिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।
टेलिफोन वार्ताका क्रममा प्रधानमन्त्री शाहले बाढीबाट भएको मानवीय तथा भौतिक क्षति र सरकारले सञ्चालन गरिरहेको खोज तथा उद्धार अभियानबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए।
प्रधानमन्त्री शाहले विपद्मा परेका नागरिकको उद्धार, उपचार, राहत तथा सुरक्षित स्थानमा स्थानान्तरणका लागि राज्यका सबै उपलब्ध संयन्त्र परिचालन गरिएको र आवश्यक सहयोग जुटाउन सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
यसअघि पनि राष्ट्रपतिले गरेका थिए एकताबद्ध हुन आह्वान
यसअघि राष्ट्रपति पौडेलले भोटेकोसी नदीमा अकस्मात आएको बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका थिए।
उनले प्राकृतिक विपत्तिको यस कठिन घडीमा प्रभावित नागरिकको उद्धार र राहतका लागि सरकार, राजनीतिक दल, सामाजिक संघसंस्था, सुरक्षा निकाय तथा सम्पूर्ण आम नागरिकलाई एकताबद्ध भएर सहयोगमा जुट्न आह्वान गरेका थिए।
भोटेकोसीको विनाशकारी बाढीपछि खोज तथा उद्धार कार्य जारी रहेका बेला राष्ट्रपतिले प्रधानमन्त्रीसँग प्रत्यक्ष रूपमा जानकारी लिँदै उद्धार अभियानमा राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्न आग्रह गरेका हुन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्