काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सरकारले रसुवाका प्रभावित क्षेत्रमा उद्धार र राहत अभियान थप तीव्र बनाएको छ। गृहमन्त्री सुधन गुरुङले उपलब्ध हवाई साधन तथा सुरक्षा जनशक्तिलाई उद्धार कार्यमा केन्द्रित गर्न निर्देशन दिँदै अहिले कुनै पनि हेलिकप्टर निजी प्रयोजनका लागि सञ्चालन गर्न नपाइने बताएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उद्धार टोलीलाई निर्देशन दिँदै गृहमन्त्री गुरुङले बाढी प्रभावित क्षेत्रमा नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता रहेको स्पष्ट पारे।
उनले प्रभावित क्षेत्रमा थप उद्धार सामग्रीसहित सुरक्षा टोली परिचालन गरिएको जानकारी दिँदै खोजी, उद्धार र राहत वितरणलाई प्रभावकारी बनाउन तीनवटै सुरक्षा निकायबीच उच्चस्तरीय समन्वय आवश्यक रहेको बताए।
‘पहिले ज्यान बचाऔँ, अन्य उडान पछि’
गृहमन्त्री गुरुङले विपद्को गम्भीर अवस्थालाई ध्यानमा राख्दै उपलब्ध हेलिकप्टर तथा हवाई साधनलाई प्राथमिकताका साथ उद्धार अभियानमा प्रयोग गर्न निर्देशन दिएका छन्।
उनका अनुसार, अहिलेको मुख्य प्राथमिकता बाढीमा फसेका नागरिकको उद्धार, सम्पर्कविहीन व्यक्तिको खोजी र घाइतेलाई तत्काल उपचारका लागि सुरक्षित स्थानमा पुर्याउनु हो।
सरकारले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका थप टोलीलाई आवश्यक उद्धार सामग्रीसहित प्रभावित क्षेत्रमा परिचालन गरेको जनाएको छ। दुर्गम तथा सडक सम्पर्क टुटेका क्षेत्रमा हवाई उद्धारलाई विशेष प्राथमिकतामा राखिएको छ।
उद्धार सामग्री, औषधि र राहतमा जोड
गृहमन्त्रीले प्रभावित नागरिकका लागि तत्काल आवश्यक पर्ने उद्धार सामग्री, औषधि, खाद्यान्न, पिउने पानी तथा अन्य अत्यावश्यक राहत सामग्रीपर्याप्त मात्रामा उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
उनले सुरक्षा निकायलाई सूचना आदानप्रदानमा ढिलाइ नगर्न र घटनास्थलको वास्तविक अवस्थाअनुसार जनशक्ति तथा स्रोतसाधन परिचालन गर्नसमेत आग्रह गरेका छन्।
बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार अभियान जारी रहँदा सरकारले उपलब्ध सबै स्रोतसाधनलाई प्रभावकारी रूपमा परिचालन गर्ने जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्