काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी नदीमा आएको बाढीबाट बेपत्ता भएकाहरूको हरसम्भव खोजी गर्न तथा जोखिममा रहेका नेपाली नागरिक र विदेशी पर्यटकको तत्काल उद्धार, स्थानान्तरण र राहतको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ।
बुधबार बसेको कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठकले बाढी प्रभावितको उद्धार तथा राहतमा कुनै कसर बाँकी नराख्न र घाइतेको उपचारमा विशेष ध्यान दिन सरकारलाई आग्रह गरेको हो।
नागरिकको जीवन विपद्मा परेको अवस्थामा सरकार, प्रतिपक्षी राजनीतिक दल, संघ–संस्था, निजी क्षेत्र तथा नागरिक समुदाय एकजुट भएर उद्धार तथा राहतमा जुट्नुपर्ने बैठकको निष्कर्ष छ।
कांग्रेस महामन्त्री प्रदीप पौडेलले विपद्को समयमा सरकारका हरेक प्रयासमा पार्टीको पूर्ण साथ र सहयोग रहने बताए। उनले पार्टीका नेता तथा कार्यकर्तालाई भ्रामक सूचना, मिथ्या र अफवाहको पछि नलाग्न तथा आरोप–प्रत्यारोपमा नउत्री उद्धार, राहत र व्यवस्थापनमा केन्द्रित हुन आग्रह गरे।
विपद् व्यवस्थापन समन्वय समिति गठन
कांग्रेसले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनाको काममा पार्टीको तर्फबाट समन्वय गर्न ‘रसुवा बाढी विपद् व्यवस्थापन समन्वय तथा सहजीकरण समिति’ गठन गरेको छ।
केन्द्रीय सदस्य एवं रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन आचार्यको संयोजकत्वमा गठन गरिएको समितिमा रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन र नवलपुरबाट केन्द्रीय कार्यसमितिमा रहेका सदस्यहरू सहभागी छन्।
समितिको सदस्य सचिवमा पार्टीको विपद् व्यवस्थापन उपसमितिका संयोजक मानबहादुर थापा रहेका छन्।
थापाका अनुसार समितिअन्तर्गत नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा सूचना तथा समन्वय डेस्क स्थापना गरिनेछ। कांग्रेसको तर्फबाट हुने सबै प्रकारका सहयोग समितिको समन्वयमा सञ्चालन गरिने उनले बताए।
कांग्रेसले पार्टीको तर्फबाट एकमुष्ट रूपमा राहत कोषमा रकम जम्मा गर्ने निर्णयसमेत गरेको छ। यद्यपि, राहत कोषमा जम्मा गरिने रकमको विवरण भने सार्वजनिक गरिएको छैन।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्