काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा भन्सार कार्यालयका १५ जना कर्मचारी सम्पर्कविहीन भएका छन्। साँझ ८ बजेसम्मको विवरणअनुसार तीमध्ये १० जनाको सकुशल उद्धार गरिएको छ।
भन्सार विभागका अनुसार कार्यालय आसपास रहेका थप आठ जना कर्मचारी अझै सम्पर्कविहीन छन्। उनीहरूको अवस्था पत्ता लगाउन खोज तथा उद्धार कार्य जारी रहेको विभागले जनाएको छ।
बाढीका कारण कर्मचारीहरू सम्पर्कविहीन भएका हुन्। उद्धार गरिएकामध्ये दुई जना घाइते कर्मचारीलाई थप उपचारका लागि काठमाडौंस्थित नर्भिक अस्पताल ल्याइएको भन्सार विभागले जनाएको छ। उनीहरूको अवस्था गम्भीर नरहेको बताइएको छ।
खोज तथा उद्धार तीव्र
सम्पर्कविहीन कर्मचारीको खोजी तथा उद्धारका लागि सम्बन्धित अधिकारी तथा सुरक्षा निकाय परिचालन गरिएको छ। भन्सार विभागले स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गरी खोजी कार्यलाई तीव्रता दिएको जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा पानीको बहाव र भौगोलिक अवस्थाका कारण उद्धारमा कठिनाइ भइरहेको भए पनि सम्पर्कविहीन कर्मचारीको खोजीका लागि सम्भव सबै प्रयास भइरहेको विभागले जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्