काठमाडौं । प्रतिनिधिसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ। संसद् सचिवालयले सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको जनाएको हो।
यसअघि आज बसेको प्रतिनिधिसभा बैठकपछि सभामुख डीपी अर्यालले भोलि दिउँसो १ बजे अर्को बैठक बस्ने जानकारी गराउनुभएको थियो। तर, पछि संसद् सचिवालयले नयाँ सूचना जारी गर्दै पूर्वनिर्धारित बैठक स्थगित भएको स्पष्ट पारेको छ।
बाढी, उद्धार र राहतमा केन्द्रित हुन बैठक स्थगित
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि उत्पन्न संकटपूर्ण अवस्थालाई ध्यानमा राख्दै प्रतिनिधिसभा बैठक स्थगित गरिएको बताइएको छ।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण, घाइतेको उपचार र विस्थापित नागरिकको पुनर्स्थापना कार्यलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने अवस्था रहेकाले बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो।
भोटेकोशी बाढीले रसुवा मात्र नभई नुवाकोट, धादिङलगायतका जिल्लामा समेत ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। प्रभावित क्षेत्रमा सरकारी निकाय, सुरक्षा निकाय तथा अन्य सरोकारवाला संस्था उद्धार र राहत कार्यमा परिचालित छन्।
संसद् सचिवालयले प्रतिनिधिसभाको अर्को बैठकको मिति र समयबारे पछि सूचना जारी गरिने जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्