काठमाडौं । रसुवा जिल्लामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेका परिवार तथा प्रियजनप्रति अमेरिकाले समवेदना व्यक्त गरेको छ।
अमेरिकी विदेश मन्त्रालयले बाढीबाट प्रभावित सबैप्रति सहानुभूति व्यक्त गर्दै विपद् प्रतिकार्य प्रयासमा सहयोग गर्न विपद् प्रतिकार्य सल्लाहकारलाई नेपालमा खटाउने जनाएको छ।
अमेरिकाले क्याथोलिक रिलिफ सर्भिसेसमार्फत ५ लाख अमेरिकी डलर अर्थात् करिब ७ करोड ६० लाख रुपैयाँ बराबरको आपत्कालीन सहायता उपलब्ध गराउने घोषणा गरेको छ।
उक्त रकमबाट बाढी प्रभावित समुदायका लागि आपत्कालीन आश्रय, राहत सामग्री, खानेपानी, सरसफाइ तथा स्वच्छता लगायतका क्षेत्रमा सहयोग गरिने जनाइएको छ।
अमेरिकी नागरिकको खोजीमा समन्वय
काठमाडौँस्थित अमेरिकी दूतावासले बाढी प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकको अवस्था बुझ्न तथा आवश्यक सहयोग उपलब्ध गराउन स्थानीय अधिकारीहरूसँग समन्वय गरिरहेको जनाएको छ।
बाढीका कारण आकस्मिक सहयोग आवश्यक पर्ने अमेरिकी नागरिकलाई दूतावासको सम्बन्धित इमेलमार्फत सम्पर्क गर्न आग्रह गरिएको छ।
सुरक्षा सतर्कता अपनाउन आग्रह
दूतावासले प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकलाई स्थानीय समाचारको निगरानी गर्न, स्थानीय अधिकारीका निर्देशन पालना गर्न तथा सुरक्षा र आपत्कालीन सूचना प्राप्त गर्न Smart Traveler Enrollment Program (STEP) मा दर्ता हुन आग्रह गरेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्