काठमाडौं । विपद्सम्बन्धी सरकारका कामकारबाहीमा सहयोग तथा अनुगमन गर्न र दीर्घकालीन समाधानका लागि ‘उच्चस्तरीय सर्वदलीय संयन्त्र’ गठन हुने भएको छ। बिहीबार बसेको सर्वदलीय बैठकमा सहभागी नेताहरू संयन्त्र गठन गर्न सहमत भएका हुन्। बैठकपछि जारी संयुक्त वक्तव्यमा विपद् व्यवस्थापन, पुनर्निर्माण तथा जोखिम न्यूनीकरणका कामलाई तत्कालीन राहत र उद्धारमा मात्र सीमित नराखी दिगो तथा दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिइएको छ।
वक्तव्यमा भनिएको छ, “विपद्पछिको पुनर्निर्माण, जलवायु अनुकूलन, राष्ट्रिय विपद् नीतिमा समयानुकूल सुधार र सरकारका कामकारबाहीलाई निरन्तर सल्लाह, सहयोग र अनुगमन गर्न ‘संसदीय समिति’ गठन गर्न हामी सहमत भएका छौँ।”
राष्ट्रिय सहमति निर्माणमा भूमिका
प्रस्तावित संयन्त्रले विपद्को समयमा उद्धार, राहत तथा पुनर्निर्माणको अनुगमन गर्नुका साथै विपद् पूर्वतयारी, जोखिम न्यूनीकरण र दिगो विकासका विषयमा राष्ट्रिय सहमति निर्माण गर्नेछ।
त्यस्तै, विद्यमान विपद् नीति तथा व्यवस्थामा आवश्यक सुधारका लागि सरकारलाई सुझाव दिने र दीर्घकालीन पुनर्निर्माणका कामलाई प्रभावकारी बनाउन सहजीकरण गर्ने भूमिका संयन्त्रले निर्वाह गर्ने बताइएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्