काठमाडौं । रसुवाको भोटेकोसी हुँदै त्रिशूली र नारायणी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा विपद् व्यवस्थापनका लागि एक हजार ५०० भन्दा बढी सशस्त्र प्रहरी बल (एपीएफ) परिचालन गरिएको छ।
सशस्त्र प्रहरीले प्रभावित क्षेत्रमा विपद् प्रतिकार्य बेस स्थापना गरी भत्किएका संरचना, नदी किनार तथा विभिन्न जलविद्युत् परियोजनाका क्षेत्रमा विशेष खोज तथा उद्धार टोली परिचालन गरेको जनाएको छ। गोताखोर तालिम प्राप्त जनशक्ति, तालिमप्राप्त कुकुर तथा छ वटा ड्रोन समेत खोजी कार्यमा प्रयोग गरिएको छ।
१२ स्थानबाट ९८ शव फेला
सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार हालसम्म विभिन्न १२ स्थानबाट ९८ वटा शव फेला पारिएको छ।
त्यस्तै, बाढीबाट प्रभावित क्षेत्रमा ३० जना घाइतेको उद्धार गरिएको छ भने ७३ जनालाई सकुशल उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
प्रभावित क्षेत्रमा अझै सम्पर्कविहीन रहेका व्यक्तिको खोजी कार्य जारी रहेको र नदी किनार, क्षतिग्रस्त संरचना तथा जलविद्युत् आयोजनालगायत सम्भावित स्थानमा निरन्तर खोजी भइरहेको जनाइएको छ।
नुवाकोटमा स्वास्थ्य शिविर
बाढीमा घाइते भएकाहरूलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउन सशस्त्र प्रहरीको चिकित्सकसहितको टोलीले नुवाकोटमा स्वास्थ्य शिविर स्थापना गरी उपचार सेवा प्रदान गरिरहेको छ।
गम्भीर अवस्थाका घाइतेलाई आवश्यक परेमा तत्काल उपचार उपलब्ध गराउन नेपाल एपीएफ अस्पतालमा १०० शय्या खाली राखिएको सशस्त्र प्रहरीले जनाएको छ।
यसैगरी, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारमा रहेको १०० शय्या क्षमताको कन्टेनर अस्पताल समेत प्रभावित क्षेत्रमा पठाउने तयारी गरिएको छ। अन्य क्षेत्रमा रहेका विपद् व्यवस्थापनसम्बन्धी कन्टेनर तथा आवश्यक स्रोतसाधनलाई पनि बाढी प्रभावित क्षेत्रमा केन्द्रित गरी परिचालन गरिएको जनाइएको छ।
खोज तथा उद्धारलाई तीव्रता
भोटेकोसीबाट सुरु भएको बाढी त्रिशूली हुँदै नारायणी नदी प्रणालीसम्म पुगेपछि तटीय क्षेत्रका विभिन्न स्थानमा खोजी कार्य विस्तार गरिएको छ।
सशस्त्र प्रहरीले उपलब्ध जनशक्ति, गोताखोर, उद्धार विशेषज्ञ, तालिमप्राप्त कुकुर, ड्रोन तथा स्वास्थ्य टोलीलाई परिचालन गर्दै सम्पर्कविहीन व्यक्तिको खोजी, घाइतेको उद्धार र प्रभावित नागरिकलाई आवश्यक राहत तथा स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यलाई निरन्तरता दिएको जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्