काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले देशभरका उद्योगी–व्यवसायीलाई बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा सक्रिय हुन अपिल गरेको छ।
महासंघले बिहीबार विज्ञप्ति जारी गर्दै जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ तथा देशभरका उद्योगी–व्यवसायीलाई स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी तत्काल उद्धार तथा राहत कार्यमा जुट्न आग्रह गरेको हो।
महासंघले प्रभावित परिवारका लागि खाद्यान्न, पिउने पानी, औषधि, लत्ताकपडा तथा अन्य अत्यावश्यक सामग्रीको व्यवस्थापन गरी सुरक्षित रूपमा प्रभावित क्षेत्रमा पुर्याउन निजी क्षेत्रको सम्पूर्ण क्षमता परिचालन गर्न आग्रह गरेको छ।
महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले त्रिशूली नदी तथा आसपासका तटीय क्षेत्रमा जोखिम अझै कायमै रहेको भन्दै जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न, आवतजावत नियन्त्रण गर्न र पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
आपूर्ति प्रणाली सहज राख्न आग्रह
महासंघले विपद्का कारण उत्पन्न असहज परिस्थितिमा मानवीय संवेदनशीलतालाई प्राथमिकतामा राख्दै अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति नियमित र निर्वाध बनाउन व्यवसायीलाई आग्रह गरेको छ। साथै, अत्यावश्यक वस्तुको यथोचित तथा स्थिर मूल्य कायम राख्न पनि महासंघले अपिल गरेको छ।
महासंघले आफू प्रभावित नागरिक, उद्योगी–व्यवसायी तथा स्थानीय समुदायको साथमा रहेको जनाएको छ। उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सरकार, स्थानीय तह, सुरक्षा निकाय र अन्य सरोकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्य गर्ने प्रतिबद्धता पनि महासंघले जनाएको छ।
अध्यक्ष श्रेष्ठले सम्पूर्ण नागरिक तथा उद्योगी–व्यवसायीलाई उच्च सतर्कता अपनाउन, संयमित र सुरक्षित रहन तथा एकताका साथ विपद्को सामना गर्दै एक–अर्कालाई सहयोग गर्न आग्रह गरेका छन्।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्