काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका १८ जनाको खोजीका लागि मकवानपुरको थाहा नगरपालिकाका नगरप्रमुख विष्णुबहादुर विष्ट स्वयं नेतृत्वको टोली लिएर बाढी प्रभावित क्षेत्रमा पुगेका छन्।
सम्पर्कविहीन नागरिकको तस्बिरसहितको विवरण बोकेर बिहीबार रसुवा तथा नुवाकोटका विभिन्न बाढी प्रभावित क्षेत्रमा पुगेको टोलीले दिनभर खोजी गरे पनि हालसम्म उनीहरूको अवस्थाबारे यकिन जानकारी प्राप्त हुन नसकेको नगरप्रमुख विष्टले बताएका छन्।
बाढीपछि थाहा नगरपालिकाका १८ जना नागरिक सम्पर्कविहीन भएपछि उनीहरूको खोजी तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले नगरप्रमुख विष्ट आफैं घटनास्थल पुगेका हुन्।
उनका अनुसार सम्पर्कविहीन सबै १८ जनाको तस्बिर, नाम र अन्य विवरण सुरक्षा निकाय, स्थानीयवासी तथा खोजी–उद्धारमा संलग्न टोलीलाई उपलब्ध गराइएको छ।
शव र उद्धार गरिएकाको विवरणसँग मिलान
खोजी टोलीले सम्भावित क्षेत्रमा पुगेर स्थानीयवासीसँग जानकारी लिइरहेको तथा विभिन्न स्थानमा फेला परेका शव र उद्धार गरिएका व्यक्तिको विवरणसँग सम्पर्कविहीन नागरिकको पहिचान मिलाउने प्रयास गरिरहेको जनाएको छ।
बाढीका कारण सडक तथा सञ्चार सम्पर्कमा समस्या उत्पन्न भएकाले सूचना संकलन र खोजी कार्यमा कठिनाइ भइरहेको बताइएको छ।
सम्पर्कविहीन नागरिकका परिवारजन भने आफ्ना आफन्तको अवस्थाबारे कुनै जानकारी प्राप्त हुने आशामा रहेका छन्। नगरप्रमुख विष्टले सम्बन्धित निकायसँग निरन्तर समन्वय गरी खोजी कार्यलाई निरन्तरता दिइने बताएका छन्।
सम्पर्कविहीन हुने १८ जना
थाहा नगरपालिकाले संकलन गरेको विवरणअनुसार बाढीपछि सम्पर्कविहीन हुनेमा भुवन लामिछाने, सोनाम गोले, विजय बलामी, सुदीप कार्की, हिरा लामा, टीकालाल लामा, सबिन लो, लालबहादुर लामा (सुब्बा), प्रशान्त कार्की, रामेश्वर लामा, राजु बल, सोमलाल गोले, श्रीकृष्ण थिङ, रञ्जन अधिकारी, रेलबहादुर अधिकारी, सुदीप वाइबा, सूर्य गोपाली (मिलन) र राजु लामा तामाङ रहेका छन्।
उनीहरूमध्ये केही सवारी चालकसमेत रहेको जनाइएको छ।
नगरप्रमुख विष्टका अनुसार खोजी टोलीले सम्भावित स्थानमा पुगेर स्थानीयसँग जानकारी लिने तथा सुरक्षा निकाय र उद्धारकर्तासँग समन्वय गर्ने कामलाई निरन्तरता दिएको छ। सञ्चार सम्पर्क पूर्ण रूपमा सहज हुन नसक्दा सूचना आदानप्रदानमा कठिनाइ भए पनि सम्पर्कविहीन नागरिकको अवस्था पत्ता लगाउन अधिकतम प्रयास भइरहेको उनले बताएका छन्।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्