काठमाडौँ । चीनले नेपालको परराष्ट्र मन्त्रालयमार्फत भोटेकोशी नदीमा पुनः बाढी आउन सक्ने सम्भावनाबारे सूचना पठाएको छ। चीनबाट प्राप्त उक्त सूचनापछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी प्रभावित क्षेत्रका बासिन्दासहित सबैलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
प्राधिकरणले बाढी पूर्वानुमान महाशाखालाई उद्धृत गर्दै चीनबाट प्राप्त पछिल्लो सूचनाअनुसार भू–उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषणबाट भदौ १० गते बाढी आएको स्थानमा नदी थुनिएर ताल बनेको पाइएको जनाएको छ।
उक्त तालको पानीको सतह बढिरहेको र कुनै पनि बेला फुट्न सक्ने जोखिम देखिएको प्राधिकरणले जनाएको छ।
अर्को सूचना जारी नभएसम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्धार कार्यमा खटिएका उद्धारकर्ता तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। प्राधिकरणले नदी किनार तथा अन्य जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा रहनसमेत अनुरोध गरेको छ।
प्राधिकरणको सतर्कता
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चीनबाट प्राप्त सूचनाका आधारमा पुनः बाढीको जोखिमबारे चेतावनी जारी गरेको हो।
प्राधिकरणले नदीको अवस्था संवेदनशील रहेकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नबस्न र तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्