रसुवा । भोटेकोसी नदीमा आएको बाढीका कारण रसुवा जिल्लामा करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। वेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेँसी–रसुवागढी जोड्ने सडकखण्ड बाढीले पूर्ण रूपमा क्षति पुर्याएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार गल्छीदेखि त्रिशूलीसम्मको करिब १० किलोमिटर सडकसमेत अझै अवरुद्ध छ। यस्तै, पृथ्वीराजमार्गअन्तर्गत करिब १३ किलोमिटर सडक लेदोले पुरिएको छ। लेदो हटाएर सडक सञ्चालनमा ल्याउने कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको मन्त्रालयले जनाएको छ।
बाढीका कारण रसुवामा ४१ वटा पुलसमेत पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। सडक तथा पुलमा ठूलो क्षति भएपछि यातायात सम्पर्क पुनःस्थापनाका लागि वैकल्पिक संरचना निर्माणको काम अघि बढाइएको छ।
भारत र चीनबाट बेलिब्रिज सहयोग
सरकारसँग ५० मिटरसम्म लम्बाइका सात वटा बेलिब्रिज उपलब्ध रहेको मन्त्रालयले जनाएको छ। आवश्यकता र सम्भाव्यताका आधारमा ती बेलिब्रिज जडान गर्ने तयारी भइरहेको छ।
यसैगरी, भारत र चीन सरकारले पनि आवश्यक पर्ने बेलिब्रिज तत्काल उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। पहिलो चरणमा पृथ्वीराजमार्ग सञ्चालनमा ल्याउने र रसुवालाई सडक सञ्जालसँग जोड्ने गरी काम भइरहेको मन्त्रालयले जनाएको छ।
सोहीअनुसार वेत्रावती क्षेत्रमा बेलिब्रिज राख्ने तयारी गरिएको छ। वेत्रावतीसम्मको सडक सञ्चालनमा नआएसम्म धुन्चे हुँदै स्याफ्रुबेँसी पुग्न कठिनाइ हुने मन्त्रालयले जनाएको छ।
२० वटा उपकरण परिचालन
क्षतिग्रस्त सडक खुलाउन सरकारले उपलब्ध गराएका १० वटा र निजी क्षेत्रबाट थप १० वटा गरी कुल २० वटा उपकरण परिचालन गरिएको छ।
मन्त्रालयका अनुसार सडक तथा पुलको पुनर्निर्माण र यातायात सम्पर्क पुनःस्थापनालाई उच्च प्राथमिकतामा राखेर काम तीव्र पारिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्