जुम्ला । जुम्लाको पातारासी गाउँपालिकाबाट रोजगारी तथा कामको सिलसिलामा रसुवा पुगेका २० जना सम्पर्कमा आएका छन्। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका भनिएका ७६ जनामध्ये २० जना सकुशल रहेको जानकारीसहित सम्पर्कमा आएको गाउँपालिकाले जनाएको छ।
पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराका अनुसार प्रारम्भिक जानकारीमा गाउँपालिकाका ७६ जना स्थानीय रसुवा क्षेत्रमा सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको थियो। खोजी तथा सम्पर्क गर्ने क्रममा २० जना सकुशल रहेको जानकारी प्राप्त भएको हो।
यससँगै पातारासी गाउँपालिकाका ५६ जना स्थानीय अझै सम्पर्कविहीन रहेको अध्यक्ष बोहोराले बताए।
उनका अनुसार रसुवामा रोजगारीका लागि पुगेका स्थानीयको यकिन विवरण संकलन गर्दा पातारासी गाउँपालिका–४, ५ र ६ का नागरिकको संख्या बढी देखिएको छ। सम्पर्कविहीनमध्ये अधिकांश विभिन्न जलविद्युत् आयोजनामा कार्यरत रहेको जनाइएको छ।
“गाउँपालिकाका विभिन्न गाउँका बासिन्दा रोजगारी तथा कामको सिलसिलामा रसुवा पुगेका थिए,” अध्यक्ष बोहोराले भने, “बाढी आएपछि धेरै स्थानीयसँग सम्पर्क हुन सकेको छैन। अधिकांश जलविद्युत् आयोजनामा कार्यरत थिए।”
गाउँपालिकाले सम्पर्कविहीन तथा हालसम्म सम्पर्कमा आएका नागरिकको नामावली र ठेगाना सूचनामार्फत सार्वजनिक गरेको जनाएको छ।
यसैबीच, जुम्लाको गुठीचौर गाउँपालिका र चन्दननाथ नगरपालिकाका केही स्थानीयसमेत बाढी प्रभावित क्षेत्रमा परेका सूचना प्राप्त भएको अध्यक्ष बोहोराले जानकारी दिए।
जिल्ला प्रशासन कार्यालय जुम्लाले पनि जिल्लाबाट रसुवा पुगेका तथा हाल सम्पर्कविहीन रहेका नागरिकको यकिन तथ्यांक संकलन भइरहेको जनाएको छ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी मीनबहादुर रावलका अनुसार सम्पर्कविहीन नागरिकको अवस्थाबारे जानकारी प्राप्त गर्न तथा खोजी र उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल भइरहेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्