काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।
Originally published on abcnews.com.np.
काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार वेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेँसी–रसुवागढी जोड्ने सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। यस्तै, गल्छीदेखि त्रिशूलीसम्मको करिब १० किलोमिटर सडकसमेत बन्द अवस्थामा छ।
पृथ्वीराजमार्गअन्तर्गत करिब १३ किलोमिटर सडक लेदोले पुरिएको मन्त्रालयले जनाएको छ। लेदो हटाएर सडक सञ्चालनमा ल्याउने कामलाई प्राथमिकतामा राखिएको छ।
बाढीका कारण ४१ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। सरकारले ५० मिटरसम्म लम्बाइका सातवटा बेलिब्रिज उपलब्ध गराएको र आवश्यकता तथा सम्भावनाको पहिचान गरी जडान गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।
भारत र चीन सरकारले पनि आवश्यक बेलिब्रिज तत्काल उपलब्ध गराउने प्रतिबद्धता जनाएको मन्त्रालयले बताएको छ।
मन्त्रालयका अनुसार पहिलो चरणमा पृथ्वीराजमार्ग सञ्चालनमा ल्याउने र रसुवालाई सडक सञ्जालसँग जोड्ने गरी काम अघि बढाइएको छ। त्यसका लागि वेत्रावतीमा बेलिब्रिज राख्ने तयारी भइरहेको छ।
वेत्रावतीसम्मको सडक सञ्चालनमा नआएसम्म धुन्चे हुँदै स्याफ्रुबेँसी पुग्न सक्ने अवस्था नरहेको मन्त्रालयले जनाएको छ।
सडक खुलाउने कार्यलाई तीव्रता दिन सरकारका १० र निजी क्षेत्रका १० गरी २० वटा उपकरण परिचालन गरिएको छ। मन्त्रालयले क्षतिग्रस्त सडक तथा पुलको पुनःस्थापना र यातायात सञ्चालनलाई प्राथमिकताका साथ अघि बढाइएको जनाएको छ।
Originally published on abcnews.com.np.
प्रतिक्रिया दिनुहोस्