काठमाडौं । रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले सार्वजनिक यातायात क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। यात्रुवाहक तथा मालवाहक सवारीसाधनमा व्यापक क्षति पुग्नुका साथै चालक, सहचालक र सवारी मजदुरसमेत सम्पर्कविहीन भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ।
महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाका अनुसार बाढीबाट सार्वजनिक सवारीसाधनमा पुगेको क्षतिको यकिन विवरण अझै प्राप्त भइसकेको छैन। प्रारम्भिक विवरण भने आउने क्रम जारी रहेको उहाँले बताउनुभएको छ।
महासंघको आपत्कालीन कार्यसमिति बैठकले बाढीबाट क्षति भएका सवारीसाधनको विवरण संकलन गर्न केन्द्रीय कोषाध्यक्ष राजेन्द्र आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। समितिले बाढीपीडित यातायात व्यवसायी तथा मजदुरको अवस्था पहिचान गरी आवश्यक सहयोगका लागि राज्यका सम्बन्धित निकायसँग समन्वय गर्नेछ।
अध्यक्ष सिटौलाका अनुसार नेपाल अरनिको यातायात सेवा प्रालिका मानसरोवर यात्रामा गएका तीर्थयात्री बोकेका २५ वटा बसको अवस्था अज्ञात छ। ती बसमा सवार यात्रु तथा ५० जना कर्मचारीसमेत सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको उहाँले बताउनुभएको छ।
त्यस्तै, नमस्ते पासाङ ल्हामु यातायात कम्पनी प्रालिका १५ वटा सवारीसाधन तथा ती सवारीमा रहेका यात्रुको अवस्थाबारे पनि हालसम्म जानकारी प्राप्त हुन सकेको छैन।
नुवाकोट क्षेत्रमा ठूलो संख्यामा बस, माइक्रोबस तथा मालवाहक सवारीसाधन प्रभावित भएको र ती सवारीमा कार्यरत चालक, सहचालक तथा मजदुरको अवस्थासमेत अज्ञात रहेको महासंघले जनाएको छ।
अध्यक्ष सिटौलाले विपद्को यस कठिन घडीमा उद्धार तथा जोखिम न्यूनीकरणका लागि आ–आफ्नो स्थानबाट सहयोग गर्न सबैमा अपिल गर्नुभएको छ।
बुधबार बिहान तिब्बततर्फबाट आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत तल्लो तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। विपद्पछिको खोज तथा उद्धार, राहत तथा पुनःस्थापनाका लागि राज्यका विभिन्न संयन्त्र परिचालन भएका छन्।
क्षतिको विवरण संकलन तीव्र
महासंघले गठन गरेको समितिले बाढीबाट क्षति भएका सार्वजनिक सवारीसाधनको विस्तृत विवरण संकलन सुरु गरेको छ। समितिले सम्पर्कविहीन बस, माइक्रोबस तथा अन्य सवारीसाधनको अवस्था बुझ्नुका साथै ती सवारीमा रहेका यात्रु, चालक, सहचालक तथा कर्मचारीको अवस्थाबारे समेत जानकारी जुटाइरहेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्