काठमाडौँ । भोटेकोशी नदीमा फेरि ठूलो बाढी आउन सक्ने भन्दै सरकारी निकायले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। चीनतर्फ नदी थुनिएर बनेको ताल जुनसुकै बेला फुट्न सक्ने जोखिम देखिएपछि भोटेकोशीको तल्लो तटीय क्षेत्रमा ‘हाइ अलर्ट’ जारी गरिएको हो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र बाढी पूर्वानुमान महाशाखाले शुक्रबार साँझ विशेष सूचना जारी गर्दै तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेका छन्।
चीन सरकारले परराष्ट्र मन्त्रालयमार्फत पठाएको पछिल्लो सूचना तथा भू–उपग्रह तस्बिरको प्रारम्भिक विश्लेषणअनुसार भदौ १० गते बाढी आएको स्थानमै नदी थुनिएर ठूलो ताल बनेको छ। उक्त तालको पानीको सतह बढ्दै गएकाले जुनसुकै बेला फुट्न सक्ने जोखिम रहेको प्राधिकरणले जनाएको छ।
सुरक्षाकर्मी र यात्रुलाई पनि सतर्कता
अर्को सूचना जारी नभएसम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई तुरुन्तै सुरक्षित तथा अग्लो स्थानमा जान आग्रह गरिएको छ।
नदी आसपास यात्रा गरिरहेका यात्रुलाई समेत विशेष सतर्कता अपनाउन र नदी किनारका सडकमा यात्रा नगर्न आग्रह गरिएको छ। उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी तथा अन्य उद्धारकर्तालाई पनि जोखिमयुक्त क्षेत्रबाट सुरक्षित रहन भनिएको छ।
चीनबाट लगातार चेतावनी
यसअघि चीनले पनि नदी थुनिएर बनेको ताल फुट्न सक्ने भन्दै नेपाललाई सतर्क गराएको थियो। चीनबाट प्राप्त पछिल्लो सूचनाका आधारमा नेपालका सम्बन्धित निकायले भोटेकोशीको तल्लो तटीय क्षेत्रमा सम्भावित जोखिमलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाएका हुन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्