काठमाडौं । रसुवाको टिमुरे क्षेत्रमा आएको भोटेकोशी नदीको भीषण बाढीले बैंकिङ क्षेत्रमा समेत ठूलो क्षति पुर्याएको छ। बाढीका कारण विभिन्न वाणिज्य बैंकका नौ वटा शाखा प्रभावित भएका छन् भने ती शाखा तथा आसपासका क्षेत्रमा कार्यरत २४ जना कर्मचारी अझै सम्पर्कविहीन रहेको नेपाल बैंकर्स संघले जनाएको छ।
बाढीबाट प्रभावित बैंकहरूमा सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नबिल बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, एनएमबि बैंक, प्रभु बैंक र माछापुच्छ्रे बैंक रहेका छन्।
बाढीको तीव्र बहावका कारण कतिपय बैंक शाखा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने केही शाखा बगाएको अवस्थामा पुगेको जनाइएको छ।
शाखा भवनदेखि बैंकिङ उपकरणसम्म क्षति
बाढीका कारण बैंक शाखाका भवनसँगै कम्प्युटर, बैंकिङ उपकरण, महत्वपूर्ण कागजात, एटीएम तथा अन्य सम्पत्तिमा समेत क्षति पुगेको अनुमान गरिएको छ।
तर, प्रभावित क्षेत्रमा सडक, विद्युत् तथा सञ्चार सम्पर्क अवरुद्ध रहेकाले क्षतिको यकिन विवरण संकलन गर्न कठिनाइ भइरहेको बैंकर्स संघले जनाएको छ।
संघले हाल बैंकका सम्पर्कविहीन कर्मचारीको खोज तथा उद्धारलाई पहिलो प्राथमिकतामा राखिएको जनाएको छ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका मात्रै विभिन्न शाखामा कार्यरत सात जना कर्मचारी अझै सम्पर्कविहीन रहेको बताइएको छ। बैंकले उनीहरूको अवस्थाबारे जानकारी प्राप्त गर्न तथा खोजी कार्यमा सहयोग गर्न सम्बन्धित निकाय र सर्वसाधारणसँग आग्रह गरेको छ।
बैंकिङ सेवा प्रभावित
बाढीका कारण विद्युत्, टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध हुँदा प्रभावित क्षेत्रमा नियमित बैंकिङ सेवा सञ्चालनमा समेत गम्भीर असर परेको छ।
नबिल बैंकको टिमुरे शाखा पूर्ण रूपमा क्षतिग्रस्त भएकाले अर्को व्यवस्था नभएसम्म उक्त शाखाबाट सेवा सञ्चालन हुन नसक्ने जनाइएको छ। यसैगरी धुन्चे, बट्टार, गल्छी र गजुरी क्षेत्रमा रहेका बैंक शाखाको सेवा प्रवाह पनि प्रभावित भएको छ।
सञ्चार तथा यातायात सम्पर्क पुनःस्थापित भएपछि मात्र बैंकहरूले शाखागत क्षति, नगद तथा अन्य बैंकिङ सम्पत्तिको अवस्था र सेवा पुनःसञ्चालनको विस्तृत विवरण सार्वजनिक गर्न सक्नेछन्।
नेपाल बैंकर्स संघले प्रभावित क्षेत्रमा कार्यरत कर्मचारीको खोज तथा उद्धारलाई तत्काल प्राथमिकतामा राख्दै सम्बन्धित सुरक्षा निकाय र सरकारी संयन्त्रसँग समन्वय भइरहेको जनाएको छ। साथै, बाढी प्रभावित क्षेत्रमा आवश्यक बैंकिङ तथा मानवीय सहयोगका लागि सदस्य बैंकहरू तयार रहेको संघको भनाइ छ।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्