काठमाडौँ । रसुवामा आएको बाढीपछि सम्पर्कविहीन भएका बैंक तथा वित्तीय संस्थाका थप चार जना कर्मचारी बिहीबार रातिसम्म सम्पर्कमा आएका छन्।
नेपाल बैंकर्स संघका अनुसार यसअघि बुधबार साँझसम्म २६ जना बैंक तथा वित्तीय संस्थाका कर्मचारी सम्पर्कविहीन थिए। थप चार जना सम्पर्कमा आएसँगै अहिले सम्पर्कविहीन कर्मचारीको संख्या २२ जनामा झरेको छ।
संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माका अनुसार बाढी प्रभावित क्षेत्रमा रहेका कर्मचारीको अवस्थाबारे निरन्तर समन्वय भइरहेको छ। सम्पर्कमा आएका चार कर्मचारीको नाम र उनीहरू कार्यरत संस्थाको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।
सञ्चार तथा यातायात सेवा अवरुद्ध रहेकाले अन्य कर्मचारीसँग पनि सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको संघले जनाएको छ।
१८ बैंक तथा वित्तीय संस्थाका शाखामा क्षति
रसुवाको टिमुरे क्षेत्रमा आएको बाढीले बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमा समेत ठूलो क्षति पुर्याएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार नौ वाणिज्य बैंकका नौ शाखासहित कुल १८ वटा बैंक तथा वित्तीय संस्थाका शाखा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
बाढीमा टिमुरेमा रहेका सानिमा बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, नबिल बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, एनएमबी बैंक, प्रभु बैंक र माछापुच्छ्रे बैंकका शाखा प्रभावित भएका छन्।
यस्तै, ज्योति विकास बैंकका चार, लुम्बिनी विकास बैंकका दुई तथा मुक्तिनाथ विकास बैंक, सांग्रिला विकास बैंक र आईसीएफसी फाइनान्सका एक–एक शाखामा पनि पूर्ण क्षति पुगेको राष्ट्र बैंकले जनाएको छ।
बाढीबाट शाखा कार्यालयसँगै कर्मचारीसमेत प्रभावित भएपछि बैंक तथा वित्तीय संस्थाले अहिले कर्मचारीको खोजी तथा उद्धारलाई प्राथमिकता दिएका छन्।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्