काठमाडौं । रसुवा जिल्लाको टिमुरे तथा भोटेकोशी आसपास आएको भीषण बाढीबाट विभिन्न बैंक तथा वित्तीय संस्थाका कर्मचारीसमेत प्रभावित भएका छन्। बाढीपछि सम्पर्कविहीन भएका कर्मचारीमध्ये पछिल्लो जानकारीअनुसार थप चार जनासँग सम्पर्क स्थापित भएको छ।
यद्यपि, सम्पर्कमा आएका ती चार जना कुन बैंकमा कार्यरत हुन् र उनीहरूको नाम के हो भन्ने विवरण सम्बन्धित बैंक वा नेपाल बैंकर्स संघले औपचारिक रूपमा सार्वजनिक गरेको छैन।
सानिमा बैंकका अनुसार भदौ १० गते बिहान करिब ८ः४५ बजे टिमुरे क्षेत्रमा आएको बाढीपछि त्यहाँको शाखामा कार्यरत दुई कर्मचारीसँग सम्पर्क हुन सकेको छैन। बैंकले उनीहरूको अवस्थाबारे जानकारी लिन खोजी तथा सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ।
यसैगरी, गोसाइँकुण्ड तीर्थयात्राका क्रममा रहेका मुक्तिनाथ विकास बैंकका दुई महिला कर्मचारी पनि सम्पर्कविहीन छन्। बैंकका अनुसार नयाँ बानेश्वर शाखामा कार्यरत बिजेता अवाले र माछापोखरी शाखामा कार्यरत सुन्दरी श्रेष्ठसँग सम्पर्क हुन सकेको छैन।
एनआईएमबीका सात र एनएमबिका चार कर्मचारी सम्पर्कविहीन
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) का सात जना कर्मचारी बाढीपछि सम्पर्कविहीन भएका थिए। सम्पर्कविहीन हुनेमा स्याफ्रुबेँसी शाखामा कार्यरत शिवप्रसाद लम्साल, जितमान घले, टेका बहादुर लोचेन, पासाङ याङजेन तामाङ र भीमबहादुर खड्का रहेका छन्।
त्यसैगरी, मैलुङ एक्स्टेन्सन काउन्टरमा कार्यरत मुकेश खड्का र टिमुरे शाखाकी डोल्मा लामा पनि सम्पर्कविहीनको सूचीमा रहेका छन्।
एनएमबि बैंकको टिमुरे शाखामा कार्यरत धर्मराज रिमाल, नवीन गौतम, सुभाष रावल र अर्जुन पण्डितसँग पनि बाढीपछि सम्पर्क हुन नसकेको जनाइएको छ।
सञ्चार अवरुद्ध हुँदा खोजीमा कठिनाइ
बैंकहरूले सार्वजनिक गरेका विवरणअनुसार सानिमा बैंकका दुई, मुक्तिनाथ विकास बैंकका दुई, एनआईएमबीका सात र एनएमबि बैंकका चार गरी कम्तीमा १५ जना कर्मचारी सुरुमा सम्पर्कविहीन रहेको पुष्टि भएको थियो।
पछिल्लो जानकारीअनुसार तीमध्ये थप चार जनासँग सम्पर्क स्थापित भएको छ। तर, उनीहरू कुन–कुन बैंकका कर्मचारी हुन् भन्ने औपचारिक विवरण अझै सार्वजनिक भएको छैन।
बाढी प्रभावित क्षेत्रमा सञ्चार तथा यातायात सम्पर्क अवरुद्ध भएकाले कर्मचारीहरूको अवस्था पत्ता लगाउन कठिनाइ भइरहेको बैंकहरूले जनाएका छन्। सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना कर्मचारी, शाखा कार्यालय र प्रभावित क्षेत्रको अवस्थाबारे विवरण संकलन गर्नुका साथै खोजी तथा समन्वय कार्यलाई प्राथमिकतामा राखेका छन्।
सम्बन्धित बैंकबाट थप विवरण सार्वजनिक भएपछि सम्पर्कविहीन कर्मचारीको वास्तविक संख्या र उनीहरूको अवस्थाबारे स्पष्ट जानकारी आउने अपेक्षा गरिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्