काठमाडौं । देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मनसुनी वायुको प्रभाव कायमै रहँदा मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर र पूर्वमा सरदर स्थान आसपास रहेको विभागले जनाएको छ।
विभागका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्नेछ।
राति कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपात हुनसक्ने विभागको पूर्वानुमान छ।
पहाडी भूभागका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस र कोसी प्रदेशका तराईका थोरै स्थानमा पनि मध्यम वर्षा हुनसक्ने विभागले जनाएको छ।
राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
यस्तै, कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षा हुनसक्ने विभागले जनाएको छ।
विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्