काठमाडौँ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न स्थानमा रहेका राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार काठमाडौँ उपत्यकासहित कोशी, बागमती र कर्णाली प्रदेशका विभिन्न सडकमा यातायात प्रभावित भएको छ।
काठमाडौँबाट बाहिरिने प्रमुख सडकखण्डमध्ये नागढुंगादेखि मुग्लिनसम्मको सडकमा बाढी तथा पहिरोको सम्भावित जोखिमलाई ध्यानमा राख्दै सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
कोशी प्रदेशको इलाममा पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलाम–झापा जोड्ने सडकखण्ड पूर्णरूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
बागमती प्रदेशका विभिन्न जिल्लामा पनि बाढीपहिरोले सडक यातायात प्रभावित भएको छ। काभ्रेमा बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी सडकखण्डमा बाढीको जोखिमका कारण निश्चित समयसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
त्यस्तै, मकवानपुरमा हेटौँडा–भीमफेदी–बागमती–ललितपुर सडक तथा कान्तिलोकपथ क्षेत्रमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ।
रसुवामा भने बाढीका कारण उत्तरगया गाउँपालिका–५, खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड लामो समयदेखि पूर्णरूपमा अवरुद्ध रहेको छ। रसुवाको मुख्य राजमार्गसमेत अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको जनाइएको छ।
नुवाकोटमा सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै शिवपुरी गाउँपालिका–८, घट्टेखोलास्थित टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित ज्वाङखोलालगायत क्षेत्रमा पहिरो तथा बाढीको जोखिमका कारण पृथ्वी राजमार्ग प्रभावित भएको छ। चितवनमा मुग्लिन–नारायणगढ सडकखण्ड पनि बाढीका कारण पूर्णरूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
यस्तै, कर्णाली प्रदेशअन्तर्गत रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ स्थित जाजरकोट–डोल्पा सडकखण्ड पनि बाढीका कारण पूर्णरूपमा अवरुद्ध भएको छ।
नेपाल प्रहरीले वर्षाका कारण सडकमा जुनसुकै बेला बाढी तथा पहिरो आउन सक्ने भएकाले यात्रा गर्नुअघि सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ।
प्रहरीले विशेषगरी पहिरो तथा बाढीको उच्च जोखिम रहेका क्षेत्रमा अनावश्यक यात्रा नगर्न, सम्बन्धित स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गरेका सूचना पालना गर्न तथा जोखिमयुक्त सडकखण्डमा यात्रा गर्दा विशेष सावधानी अपनाउन पनि सर्वसाधारणसँग अनुरोध गरेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्